धरान । प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घीयता मन नपराएको आरोप लागिरहेका बेला ओली निकट नेकपा नेतृ निरुदेवी पालले सङ्घीयता खारेज गर्न सुझाव दिएकी छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा विघटन गरेको प्रतिनिधि सभाकी सदस्य समेत रहेकी पालले सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीलाई सङ्घीयता खारेज गर्न सुझाव दिएकी हुन् । 

उनले सङ्घीयता खारेजीसँगै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्न पनि आग्रह गरेकी छिन् । त्यस्तै उनले संसद्को सिट १०५ कायम गर्न, केन्द्रको मन्त्री परिषद् बढीमा १५ सदस्यीय बनाउन र भ्रष्टाचारीलाई जेल चलान गर्न पनि आग्रह गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू , आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसद्‌को सिट १०५, केन्द्रको मन्त्रिपरिषद् बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार,’

तत्कालिन एमालेको युवा संघकी पूर्व अध्यक्ष समेत रहेकी नेतृ पालको यो स्टाटस्मा धेरैले सकारात्मक भन्दै प्रतिक्रिया दिएका छन् ।