धरान । संसदको तल्लो सदन प्रतिनिधि सभा विघटन गरिएको १२ दिनपछि भोलि शुक्रबार संसदको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै देशव्यापी आन्दोलन चलिरहेका बेला हुन लागेको राष्ट्रिय सभाको अधिवेसनमा प्रतिनिधि सभा विघटनको कुरा उठ्ला कि नउठ्ला ? अहिले सर्वत्र चासोको विषय बनेको छ ।
शुक्रबारको राष्ट्रिय सभा बैठकको सुरुवातमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रिय सभामा रहेका नेकपा, नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीका संसदीय दलका नेताहरूले बोल्ने पालो पाउँछन् । सोहि मौकामा प्रतिनिधि सभा विघटन बारे कुरा उठाउने तयारीमा छन् तीनै दलका नेताहरु ।
तर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधि सभा विघटनको मुद्धा अदालतमा विचाराधीन रहेकाले यसबारे छलफल गर्न रोक्ने तयारी रहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।