भण्टाबारी । पूर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिष्टलाई म्युजियममा खोज्ने अवस्था आउने दाबी गरेका छन् । वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा सोमबार लौकहीमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेता कार्कीले सो कुरा बताएका हुन ।
नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ द्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै कार्कीले भने नेपाली जनताले इतिहासमै पहिलोपटक झण्डै दुई तिहाइ बहुमत दिएर कम्युनिष्टलाई सरकार बनाउने अवसर दियो तर, उनीहरू भ्रष्टाचार र अनियमिततामा लिप्त भयो ।
काङ्ग्रेस बाहेक मुलुकमा अरु कुनै दलले समृद्धि ल्याउन नसक्ने दाबी गर्दै विघटित प्रतिनिधिसभा सदस्य उनले अगाडि भने अबको दिनमा कम्युनिष्ट म्युजियम खोज्नुपर्ने अवस्था आउँछ । सर्वहारा जनताका नाममा चुनावमा भोट लिएर केपी ओली नेतृत्वको वर्तमान सरकार जथाभावी कर बढाउनेदेखि असंवैधानिक,गैरलोकतान्त्रिक निर्णय गरेकोले नेपाली जनता सडकमा आउनुपर्ने अवस्थामा आएको नेता कार्कीको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन सम्बन्धित सरकारको निर्णय सर्वोच्च अदालतमा विचारधिन रहेकोले बोल्न नमिल्ने बताउदै उनले काङ्ग्रेस सबै किसिमको परिस्थिति सामना गर्न तयार रहेको बताए ।
सोही कार्यक्रम बोल्दै कोशी गाउँपालीका अध्यक्ष तथा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले चुनावमा जनतालाई ठुला आश्वासन दिएर भोट पाएका कम्युनिष्ट सत्ता स्वार्थ,भ्रष्टाचार र अनियमिततामा लिप्त रहनुका साथै आफ्नो स्वार्थका लागि गैरलोकतान्त्रिक र असंवैधानिक निर्णय गर्दा सडकमा आउनुपर्ने अवस्था आएको दाबी गरे । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट विरोध कार्यक्रममा आएका सयौं नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।