भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरिएको छ । प्रधानमन्त्री ओलीको गैर संवैधानिक कदमविरुद्ध विरोधमा प्रदर्शन गर्दै जनता समाजवादी पार्टी, झापा जिल्ला समन्वय समितिले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका हुन् ।

पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार जनता समाजवादी पार्टीले शुक्रबार दिउँसो झापाको सदरमुकाम भद्रपुरस्थित ट्रेड युनियन चोकमा विरोध प्रदर्शन गर्दै पुतला दहन गरेका थिए । प्रधानमन्त्री र राष्ट्रपतिको पुतला सुरक्षाकर्मीले तत्काल निभाएका थिए ।

संसद् विघटनको असंवैधानिक निर्णय मान्दैनौ, निरकुङ्शता तथा अधिनायकवाद मुर्दावाद भन्दै ब्यानरसहित प्रदर्शनमा उत्रिएका समाजवादीका कार्यकर्ताहरूले चन्द्रगढी बजार परिक्रममा गर्दै कोणसभामा परिणत भएका थिए ।

कोणसभा बोल्दै पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेशले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी मुलुकलाई ध्वस्त बनाउने खेलमा लागेको आरोप लगाए ।

प्रधानमन्त्री ओली निरकुङशता तथा अधिनायकवाद तर्फ लागेको आरोप लगाउँदै समाजवादी पार्टीका झापा अध्यक्ष दिपेनवाला राईले संसद् विघटनको निर्णय तत्काल फिर्ता गर्न जोड दिएका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य भक्त खेवाङ, देउकुमार नेम्बाङ, विद्यार्थी नेता दिनेश दङगाल लगायतले मन्तव्य राखेको जनता समाजवादी पार्टीका भद्रपुर नगर अध्यक्ष सत्रुधन चौधरीले जानकारी दिए ।

त्यसैगरी विर्तामोडमा नेपाल– प्रचण्ड समूहले विर्तामोडका विभिन्न क्षेत्रबाट शुक्रबार साँझ राँके जुलुस निकालेका थिए । जुलुसलाइ नेकपा झापा सचिव विजय साम्पाङले सम्बोधन गरेका थिए ।