ब्लाष्टखबर । नेकपा दुई समुहमा विभाजित भएपछि एकैपटक ७ मन्त्रीले राजिनामा दिएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्।

शुक्रबार प्रधानमन्त्री ओलीले गरेकाे मन्त्रीमण्डल थप तथा हेरफेर ओली पक्षमा रहेका पूर्व माओवादी केन्द्रका नेतालाई प्राथमिकता दिएकाे देखिन्छ । 

नेकपा दुई समुहमा विभाजित भएपछि यतिबेला ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष दुई आ–आफ्नो शक्तिसञ्चयमा जुटेका छन् । यस्ताेमा पूर्व माओवादीबाट असन्तुष्ट भइ ओलीले समुहमा आएका ५ जना नेतालाई मन्त्रीको जिम्मेवारी दिइएको छ । 

शुक्रबार पुनर्गठन भएकाे मन्त्रीपरिषदमा पूर्व माओवादीका टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र  दावा लामा रहेका छन् । ९ जना मन्त्री थपिएकाेमा अन्य ४ जना गणेश ठगुन्ना, प्रेम आले, जुली महतो र विमला विश्वकर्मा भने पूर्व एमालेका रहेका छन् । 

थपिएका पूर्व माओवादी तर्फका नेताहरूमा रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, साह सहरी विकास, चौधरीले श्रम तथा रोजगार, थापाले खानेपानी तथा सरसफाइ, लामाले युवा तथा खेलकुदमन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, पूर्व एमालेका ठगुन्नाले सामान्य प्रशासन तथा संघीय मामिला,आलेले वन तथा वातावरण र महतोले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मन्त्रालयकाे जिम्मेवारी हेरफेर गरेका ओलीले स्वास्थ मन्त्री भानुभक्त ढकाललाई सास्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवा गरेका छन् । ढकालका ठाउँमा स्वास्थ मन्त्रालयमा हृदेश त्रिपाठीले जिम्मेवारी पाएका छन् ।

त्यस्तै, पद्मा अर्याल कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिवमाया तुम्बाहाङ्फे भूमि व्यावस्था, सहरिकरण तथा गरिबी निवारण मन्त्रालय, कृष्णगाेपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र लिलानाथ श्रेष्ठ कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

यस अघि युवा तथा खेलकुद मन्त्रलयकाे जिम्मेवारी सम्हालेका जगतबहादुर विश्वकर्म र उद्याेग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मेतिलाल दुगडलाई भने जिम्मेवारीमुक्त गराइएकाे छ ।