धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

प्रचण्ड–नेपाल समूहले आज माइतीघर मण्डलामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा ‘हामी यहाँ छौं’ लेखिएका प्लेकार्ड छातिमा टाँसेर उनीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ।

प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको भन्दै कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरुले ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा लगाएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

नेकपाको प्रचण्ड–नेपाल समूहको हिजोको बैठकले आन्दोलनमा जाने निर्णय गरेको थियो ।