विराटनगर । विराटनगर–१५ रानीका रामकिशोर ठाकुरले एक वर्षअघि विराटनगर–९ घोघापुलचौकका एजाज अहमद समूहसँग १५ लाख रूपैयाँ ऋण लिएका थिए । ३ प्रतिशत ब्याजमा ऋण लिए । तर, एजाज समूहले २० लाख रुपैयाँको कपाली तमसुक बनायो ।

ठाकुरका अनुसार आफूले विभिन्न समयमा एजाजको समूहलाई १५ लाख रूपैयाँ दिए पनि समयमा ऋण नतिरेको भन्दै तेब्बर/चौबर बढी साँवा कबोल गरेकोभन्दा बढी पैसा दिन दबाव दिए । ‘गत २५ मङ्सिरमा विराटनगरस्थित रोडशेषचौकमा एजाजसहित चारजनाको समूहले अपहरण शैलीमा बा. १८ च ८९९५ नम्बरको कारमा राखेर मलाई आँखामा पट्टी बाँधेर लिएर गए’ ठाकुरले भने, ‘आफूसँग भएको २ लाख रूपैयाँ नगद र मेरो ६० लाख र ५० लाखको चेकमा जबरजस्ती हस्ताक्षर गराए । चेकमा उल्लेख भएको मितिमा पैसा जम्मा गरिसक्नू भन्दै मानसिक रूपमा टर्चर दिएर मलाई छोडिदिए ।’ एजाजसहितको चारजनाको समूहले १५ लाखको ब्याज १ करोड १० लाख भएको भन्दै कामना विकास बैङ्कको ५० लाखको पुस ८ गते र ६० लाखको माघ १० गतेको चेक लिएर गएको ठाकुरको भनाइ छ । १५ लाखको ब्याज भन्दै १ करोड १० लाखको चेक लिएर गएपछि पनि एजाजको समूहले मानसिक रूपमा तनाव दिएपछि ठाकुरले १ पुसमा मोरङ प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेको पाँच दिनपछि एजाजलाई मोरङ प्रहरीले ६ पुसमा पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

एजाजले अन्य तीनजनाबाट मिटरब्याजमा लगाएको पैसा असुली गरेको आरोप छ । पीडितको उजुरी परेपछि विराटनगर–९ का ३५ वर्षीय तनवीर खान, सोही ठाउँका ३५ वर्षीय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षीय सावन दास फरार छन् । उनीहरूले एजाजमार्फत् मिटरब्याजमा लगाएको पैसा असुली गरेको आरोप छ । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र बनाएको छ । एजाज पक्राउ परेपछि उनीहरू भारततर्फ फरार भएको सुरक्षा स्रोतको भनाइ छ । पक्राउ परेका मिटरब्याजी एजाजलाई ‘आपराधिक लाभ लिएको’ मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘आपराधिक लाभ लिएको उजुरी आएपछि अहिले म्याद थप गरी अनुसन्धान भइरहेको छ’ एसपी खड्काले भने, ‘कति पैसा असुली गरेको छ । यस विषयमा अनुसन्धान भइरहेकोले थप कुरा अनुसन्धानपछि खुल्दै जानेछ ।’

यसअघि प्रहरीले कुख्यात मिटरब्याजी विराटनगर–९ घोघापुल चौकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । मन्टुले मिटरब्याजबाट ५० करोडभन्दा बढी असुली गरेको खुलिसकेको छ । मन्टुबाट पीडित भएका विराटनगर, मोरङको धनपालथान, जहदा गाउँपालिका, रङ्गेली र रतुवामाई नगरपालिकाका १६ भन्दा बढीले प्रहरीमा जाहेरी दिएका छन् । मन्टु पक्राउ परेपछि साही ठाउँका एजाज पक्राउ परेका हुन् । विराटनगरमा फस्टाएको अवैध मिटरब्याजको धन्दामा संलग्न गिरोहको पहिचान गर्दै उनीहरूविरुद्ध गहन अनुसन्धानमा मोरङ प्रहरी जुटेको छ । ‘पक्राउ परेका मन्टु र एजाजको कनेक्सन देखिन्छ कि देखिँदैन । यस विषयमा पनि अनुसन्धान भइरहेको छ’ –एसपी खड्काले भने ।

यसरी पुगे प्रहरीमा
पीडित भनिएका ठाकुर एजाजको समूहले मिटरब्यमजमा लिएको पैसाको ब्याजको स्याज बुझाउन नसक्दा धम्की र मानसिक रूपमा समस्यामा परेका थिए । उनी विराट मेडिकल कलेजमा काम पनि गर्दै आएका छन् । सम्पर्कमा आएका विद्यार्थीलाई ठाकुरले उक्त कलेजमा भर्ना गराइदिने काम गर्दछन् । त्यही क्रममा उनले एजाजको समूहसँग लिएको ऋण विराटनगरका पवन अग्रवाल नाम गरेका विकास मार्बल्सका सञ्चालकलाई १५ लाख रुपैयाँ रकम सापटी दिए । अग्रवालको व्यवसायसमेत विराटनगर धरान रोडको विराट नर्सिङतर्फ मोडिने सटरमा थियो । तर, मिटर ब्याजमा रकम लिएर टाट पल्टिँदै गएका अग्रवालले ठाकुरको रकम बुझाउन सकेनन् ।

ठाकुरले एजाजसहितको समूहलाई अग्रवालबाट रकम उठाइदिन सहयोग मागे । एजाज समूहको बारम्बारको दबावले अग्रवाल तीनलाख रुपैयाँ बुझाएपछि परिवारसहित भारत पसेको बुझिएको छ । त्यहीबेला ठाकुरले एजाजसँग १५ लाख रुपैयाँ रकम सापटी लिएको दाबी गरेका छन् । तर, लकडाउनको समय चैत–वैशाखमा रकम फिर्ता गरिसकेको भए पनि एजाज समूहले अहिले धाकधम्की दिँदै थप रकम असुलेको हो । ठाकुरले फिर्ता गरिसकेको भनिएको रकमको ब्याजको स्याज जोडेर आलमले १ करोड १० लाखको चेक नै लिएका छन् । एजाजको समूहले ठाकुरबाट लिएको उक्त चेक प्रहरीले फेला पारेको छैन । मनलाग्दी रकम भरेर चेक लगेपछि पनि धम्की दिन थालेपछि ठाकुर प्रहरीको शरणमा पुगेका हुन् ।

यस्तो छ एजाजको अपराध
पक्राउ परेका एजाज विराटनगरमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न छन् । उनी विभिन्न ठेकेदारहरूका लागि गुण्डागर्दी गर्ने र गराउन लागिपर्छन् । मिटरब्याजमा लगाएको पैसा असुली गरेबापत एजाजले कमिसन लिने गरेका छन् । गुण्डागर्दीबाट अकुत सम्पत्ति जोडेपछि उनी आफै घरजग्गा र मिटरब्याज कारोबारमा सक्रिय थिए । घरजग्गा खाली गराउन र मिटरब्याजको रकम असुल्न उनले कमिसन र शेयर माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका एजाज यसअघि ज्यान मार्ने उद्योगमा पक्राउ परी कैद सजाय तोकिएका प्रतिवादी हुन् । ज्यान मार्ने उद्योगमा अदालतले २ हजार जरिबाना र ६ महिना कैद सजाय तोकेको थियो । एजाज र उनका दाइ प्रवेजले दिनदहाडै विराटनगरमा तरवार प्रहार गरी तीन जनालाई घाइते बनाएका थिए । विराटनगर–१२ का सालिम हुसैनका छोरा जाकिर हुसैन, साकिर हुसैन र साजिद हुसैनलाई घरभित्र प्रवेश गरेर एजाज र आजमले २०६९ साल भदौ ३ गते दिउँसो ३ बजे ज्यान लिने उद्देश्यले तरवार प्रहार गरेर घाइते बनाएका थिए ।

घरभित्र ल्यापटप चलाइरहेको अवस्थामा उनीहरूले जाकिरको २ वटै हातमा तरवार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । जिल्ला अदालत मोरङले २०७३ मङ्सिर ८ गते पाँचजनालाई सफाइ दिएको थियो भने तरवार प्रहार गरी घाइते बनाउने एजाज र आजम परवेजलाई मुलुकी ऐन कुटपिट महलको ७ नम्बर कसुर अन्तर्गत २ हजार जरिबाना र ६ महिना कैद सजायको फैसला सुनाएको थियो । अदालतबाट टीका मियाँ, अफरोज खाँ, बिक्की खाँ, रामेश्वर मण्डल र चन्दन मण्डलले सफाइ पाएका थिए । वादीले बढी सजायको माग दाबी र प्रतिवादीले साधारण तारेखमा रिहा हुनुपर्ने माग राख्दै उच्च अदालतमा पुनरावेदन गराएका थिए । उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश मेहश शर्मा पौडेलको इजलासले गत भदौ १० गते जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको छ । उच्चले पनि जिल्लाको फैसला सदर गरेपछि प्रतिवादी दाजु भाइ प्रवेज र एजाजले अहिले सर्वोच्चमा पुनरावेदन गरेका छन् । प्रतिवादी दाजु भाइले सर्वोच्चमा पुन।ावेदन गरेको कारणले प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन । एजाजको दाइ प्रवेज अहिले युवा सङ्घको विराटनगर महानगर संयोजक छन् । पक्राउ परेका भाइ एजाजलाई छुटाउन काङ्ग्रेस र नेकपाका केही नेतासहित प्रवेज लागिपरेका थिए ।