धरान । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्वुवान मञ्च सुनसरीले संसद् विघटनको विरोध जनाएको छ ।

मञ्चले धरानको भानुचोकमा मङ्गलबार विरोध प्रदर्शन गर्दै संसद् विघटन तथा आगामी बैसाख १७ र २७ गतेका लागि तोकिएको चुनाव प्रति असहमती जनाउँदै टायर बालेर विरोध प्रदर्शन गरेको हो ।

मञ्चका धरान उपमहानगर कमिटि अध्यक्ष सञ्जुहाङ साँवाको अध्यक्षतामा भएको विरोध कार्यक्रममा महिला मञ्च सुनसरी जिल्ला अध्यक्ष सरस्वति सुव्वा, संघीय विध्यार्थी युनियनका केन्द्रीय सदस्य डिल्ली लुम्फुङ्वा, संघीय लिम्वुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य कुमार फेम्सोहाङ, संघीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेस गजमेर र संघीय लिम्वुवान मञ्चका केन्द्रीय सचिव तथा सुनसरी जिल्ला इन्चार्ज भूपेन्द्रसुन्दर लावती लगायत विभिन्न पार्टी नेता तथा नेत्रृहरूले आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले केपी ओली नेतृत्वको सरकारले संविधान र कानुन विपरित राष्ट्रघाती काम गरेको बताएका थिए । उनीहरुले केपी ओली र प्रचण्डले नेपाली जनतालाई छलकपट गरी अधिकार, संघीयता, पहिचान र अस्तित्वलाई धरासयी बनाउदै, राज्यको सम्पुर्ण धनराशी निर्वाचनमा खर्च गरेर नेपाललाई कंगाल बनाउन लागेको नेताहरुको आरोप थियो ।
नेताहरु अब पनि नसच्चिए फेरी संघर्ष सहित कडा रूपमा आन्दोलन गर्ने मञ्चले चेतवनी दिएको छ ।