धरान । प्रतिनिधिसभा भङ्ग गरेको विषयमा परेका १२ वटा रिट निवेदन प्रधानन्यायाधीशको इजलासमा तोकिएको छ ।

प्रधानन्यायाधशि चोलेन्द्रशमशेर जबराको एकल इजलासमा रिट निवेदन तोकिएको हो । सबैले दिएको रिटमा एकैपटक सुनुवाइ गरिने भएको हो किनकि एउटै आशयको रिट निवेदन परेकाले सोको सुनुवाइ एकैपटक हुने भएको हो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख, प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर भएका थिए ।

आइतबार अपरान्ह संसद् विघटन भएलगत्तै कानून व्यवसायीले रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । तर, दर्ता हुन सकेको थिएन । सोमबारदेखि रिट दर्ता सुरु भएपछि मंगलबार साँझसम्म १३ वटा रिट निवेदन परिसकेका थिए । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा पारित गरेपछि संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर ‘कू’ गरिएको भन्दै निवेदन परेका थिए ।

नेकपा सांसद्ले पनि मंगलबार रिट निवेदन दिएका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ (७) र ८५ (१) को अधिकार प्रयोग गरिएको बताए पनि त्यो अधिकार नभएको कानून व्यवसायीले बताउँदै आएका छन् । नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न माग गरिएको छ ।

१२ वटा इजलास नियमित इजलासमा दर्ता भएका छन् भने एउटा निवेदन संवैधानिक इजलासमा दर्ता भएकाले उक्त रिट निवेदनउपर शुक्रबार सुनुवाइ हुने बताइएको छ ।