धरान । केपी शर्मा ओलीको कदम प्रतिगमनकारी भएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले बर्खास्त गर्नुपर्ने आवाज उठाएका छन् ।
अग्रगामी मोर्चा एक ठाउँमा उभिन आग्रह गर्दै ओलीले चालेको कदमविरुद्ध सशक्त आवाज उठाउनुपर्ने उनले मंगलबारको पत्रकार सम्मेलनमा बताएका हुन् । ‘ओलीले चालेको कदम प्रतिगमनकारी छ, यसविरुद्ध सर्वदलीय चुनावी सरकार गठन गरेर ओलीलाई बर्खास्त गर्नुपर्छ’ उनले भने ।
ओलीले चालेको कदमले भारतलाई थप खेल्ने ठाउँ भएको टिप्पणी गर्दै उसले (भारततर्फ लक्षित गर्दै) नेपाललाई लेण्डुप दोर्जे बनाउन चाहेको बताए । सर्वदलीय चुनावी सरकार गठनका लागि पहिचानवादी, धर्मनिरपेक्षतावादी, र संघीयता पक्षधरहरू एकठाउँमा उभिनुको विकल्प नभएको उनले बताए । चुनावी सरकार गठन नभएसम्म आफूहरू सडक आन्दोलनमै रहने पनि बताए । उनले पहिचान पक्षधरलाई एउटै मोर्चामा उभिनका लागि पनि आह्वान गरे ।
संसद् विघटन न्यायालयमा पुगेको बताउँदै उनले न्यायालयप्रति पनि विश्वास गरिहाल्ने स्थिति नभएको बताए । उनले भने, ‘न्यायालय पनि दलबाट प्रभावित छ ।’ ओली सरकारले देशलाई सङ्कटको घेरामा हालेको उनले बताए । त्यसविरुद्ध आन्दोलित हुनुको विकल्प नभएको पनि दाबी गरे ।