धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु आफ्नो रहर नभएर बाध्यता भएको बताएका छन् ।

उनले आज देशवासीका नाममा सम्बोधन गर्दै आफुलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले संसद् विघटन गर्नु परेको बताएका हुन् ।

ओलीले सम्बोधनका क्रममा सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्‍मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको पनि दाबी गरे । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरिएको र पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजिएको बताउँदै ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिएको बताए ।

उनले सत्तापक्षकै कतिपय नेता प्रतिपक्ष दलका नेताभन्दा पनि आक्रामक रुपमा लागेको पनि आरोप लगाए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्ने तयारीमा रहेका पार्टीका नेता र प्रतिपक्ष दललाई पनि नयाँ निर्वाचनले आफ्नो लोकप्रियता मापनका लागि सहयोग गर्ने दाबी गरेका छन् ।