विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र काँग्रेसका नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु र काँग्रेसका नेता तथा कार्यक्रकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।

आइतबार दिउँसो विराटनगरको ट्राफिकचौक स्थित राष्ट्रिय युवा नेपाल, मोरङ अनेरास्वीय र नेपाली काँग्रेसले विरोध प्रर्दशन गरेका छन् ।

विरोध सभामा नेकपाका जिल्ला तेहका नेताहरूको सहभागिता रहेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।