विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका उद्योगी राजेन्द्र राउत सर्वसम्मत चयन भएका छन् ।

प्रदेश १ को तर्फबाट उम्मेदवारी दिएका राउत केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् । सात प्रदेशका लागि एक÷ एक वटा कोटा केन्द्रीय सदस्यका लागि छुट्याइएको हुन्छ । जसमा प्रदेश १ बाट राउत सर्वसम्मत चयन भएका हुन् । राउत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ कमिटीका उपाध्यक्षसमेत हुन् ।

राउत सर्वसम्मत चयन भइसके पनि औपचारिकरुपमा विजयी घोषणा भईसकेको छैन । राउत वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेदवारी दिएका थिए । अन्य पदमा भने चुनाव हुनेछ ।

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ भने बाँकी पदहरुमा चुनाव हुँदैछ । आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिदैछन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।