झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले दुई जना ज्येष्ठ सदस्यलाई जनही एक लाख रुपैयाँले सम्मानित गरेको छ ।
सेवा केन्द्रका ७५ वर्ष नाघेका ज्येष्ठ सदस्य लेखनाथ दाहाल र मेघराज चौहान मंगलवार सम्मान गर्दै रकम हस्तान्तरण गरेको हो । उनीहरूलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले परिवार राहत वितरण वापतको चेक प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले चेक हस्तान्तरण गर्दै सहारा नेपालको सामाजिक कार्यले समाज रूपान्तरणमा सहयोग मिल्ने गरेको बताए । उनले सहाराले स्थानीय सरकारको समन्वयमा गरेको सामाजिक कार्यमा जनप्रतिनिधिहरुको साथ र सहयोग सधैं रहने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले सदस्यहरुले कारोबारको पहिलो रोजाइको संस्था सहारालाई बनाउनु पर्नेमा जोड दिए । लक्ष्मीपुर सेवाकेन्द्र सहयोग समिति संयोजक केदारशम्शेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रममाथि प्रकाश लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारती पारेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख भारतीले संस्थाले १ बर्षको अवधिमा विपन्नलाई राहत वितरण, कोरोना राहत कोषलाई रकम हस्तान्तरण, सदस्यलाई विभिन्न तालिम, विउविजन बितरण, निःशुल्क स्वास्थ्य शिविर, ट्राफिक सचेतनालगायत ३८ वटा सामाजिक कार्य गरेको बताए ।