पथरीशनिश्चरे / मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले स्थानीय आफ्नै लापवाहीका कारण कोरोना भाइरसको जोखिम बढेको बताउँदै अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीलाई अनुरोध गरेका छन् ।

नगर प्रमुख राईले शनिवार वडा नम्वर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमुलक सहभागितामाझको १० औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै त्यस्तो अनुरोध गरेका हुन् ।

उनले नगरको क्वारेन्टिनमा राखिएका ७ सय जनाको स्वाब संकलन गरी पीसीआर विधिबाट जाँच गर्दा मात्र १६ जनामा कोरोना देखिएको अवस्थामा हाल आएर स्वास्थ्य लापरबाहीका कारण हिँडडुल गर्दा समुदायका ६३ जना गरी कुल ७९ जनामा कोरोना फैलिइसकेको अवस्था दर्शाए । उनले भनें ‘हामी हाम्रै लापरबाहीले कोरोनाको संक्रमणको भयावहस्थितीमा पुग्दैछौं ।

सावधानी अपनाउने कुरा सवैलाई थाहा भएपनि लापरवाही गर्ने बानीले हामी आफैंलाई असर गरिरहेको छ ।’ कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने र सेनिटाइजर लगाएर स्वास्थ्य सतर्कता अपनाउनुको विकल्प नरहेको स्मरण गराए । कोरोनाको संक्रमण बढिरहेकाले संक्रमितका लागि आवश्यक पर्दा प्रदेश १ मा अस्पतालमा राख्ने बेड समेत नभएको उनले जनाए ।

कोरोनाको संक्रमण नगरका जनप्रतिनिधि, नगर कर्मचारी, स्वास्थ्यकर्मी सहित समुदायमा फैलिएकाले असोज ३० देखि कार्तिक ६ गतेसम्मका लागि नगरपालिका वडा कार्यालयको प्रशासनिक सेवा बन्द गरिएको छ ।

नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्वर वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा ती कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा पीसीआर परीक्षणको रिपोर्ट आएपछि रिपोर्टका आधारमा कार्यालय के कसरी सञ्चालन गर्ने भन्ने निर्णय हुने बताए ।

शनिवार कन्ट्रयाक ट्रेसिङका आधारमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । दैनिक तथा साप्ताहिक हाट बजार समेत बन्द गरिएको उल्लेख गरे ।

वन संरक्षको प्रसंगमा उनले नगरपालिकाले पनि सरोकारवाला पक्षहरुसँग छलफल गरी नीति बनाउने बताउँदै नगरले वन तथा सिमसारयुक्त पर्यटन प्रवद्र्धनका लागि गत वर्षदेखि नै सामुदायिक वनहरुसँगको साझेदारी कार्यक्रम अघि सारेको सुनाए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सचिव अग्नी पौडेलले वन संरक्षणको नाममा बैज्ञानिक वन व्यवस्थापन भन्दा दिगो वन व्यवस्थापनको उपयुक्त नमूना तयार गरेर अघि बढ्नु पर्ने तथा वन माथिको तेहेरो कर हटाउनु पर्ने विषयमा बोलेका छन् ।

महासंघका मोरङ जिल्ला सदस्य रविन्द्रकुमार राई, पथरी सव डिभिजन वन प्रमुख मोहमद अलाउद्धिन सहितले वन संरक्षणमा उपभोक्ताहरुको महत्वका बारेमा बोलेका छन् ।

साधारसभामा आर्थिक वर्ष २०७७/७८ का लागि ६५ लाख ८५ हजार ३ सय ६९ रुपैयाँ ७२ पैसाको अनुमानित आयव्यय विवरण प्रस्तुत भएको छ । जसमा वन विनासतर्फ २२ लाख ९४ हजार, ९ हजार ८७, गरिवी न्यूनिकरणतर्फ २० लाख ८ हजार १ सय १४ र सामाजिक विकास कार्यक्रमतर्फ १४ लाख ३४ हजार ६ सय ६७ रुपैयाँ बाँडफाँड गरिएको समूह सचिव मैनादेवी फूयल आचार्यले जनाइन् । कार्यक्रम समूह अध्यक्ष इश्वर चौहानको अध्यक्षतामा सम्पन्न भयो ।