उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी द्धारा संचालित बहुप्राविधिक शिक्षालय दमक–४ ताराबारीमा प्रतिष्ठानका कर्मचारी मुक्तीनाथ दाहालले गरेको आत्महत्याको बिषयलाई लिएर बिद्यार्थी आन्दोलित बनेका छन ।

प्रतिष्ठानद्धारा संचालित शैक्षिक कार्यक्रमका बिद्यार्थीहरुले बिहीबार प्रतिष्ठानको मुख्यालय परिसरमा प्रतिष्ठानका अध्यक्ष, कार्यकारी निर्देशक बिरुद्ध नारा लगाउदै आत्महत्याको निष्पक्ष छानविनको माग गरेका छन । बिद्यार्थीहरुले हातमा प्लेकार्ड सहित शैक्षिक माफीया मुर्दावाद, पिडीत परिवारलाई न्याय देउ, तानाशाही प्रशासन मुर्दावाद सहितका नारा लगाएका छन ।

आन्दोलित बिद्यार्थीहरुले धर्ना पश्चात मृतक कर्मचारीको घर उर्लाबारी–५ डिबीमार्गमा पुगेर न्याय दिलाउने र न्याय नपाए सम्म अँन्दोलन निरन्तर गर्ने आश्वासन परिवारका सदस्यलाई दिएका पारिवारका सदस्यले बताएका छन ।

सो शिक्षालयको लेखा तथा प्रशासन शाखाका प्रमुख दाहालले चार दिन अघि शिक्षालयको कक्षा कोठामा झुुुुुण्डीएर आत्महत्या गरे पश्चात बिद्यार्थीहरु प्रतिष्ठान प्रशासन विरुद्ध सडकमा उत्रिएका हुन । उता प्रतिष्ठान प्रशासनले कर्मचारीको निधनका कारण जनाउदै असोज २४ गते सम्म सवै सेवा बन्द गरेको जनाएको छ ।