भद्रपुर/ झापामा मङ्गलबार रातीदेखि परेको अविरल वर्षापछि खोलामा आएको बाढीले कतै घर बगाएको छ, भने कतै डुबानसँगै जमिन कटान गर्नेक्रम बढेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

देउनियाँ खोलाले हल्दिबारी गाउँपालिका ३ स्थित देवी बस्तीमा कटानसँगै खोलाले दिलबहादुर राईको १४ कट्ठा जमिन कटान गर्नुका साथै भान्सा घर बगाएको हल्दिबारी ३ नम्बरका वडा अध्यक्ष रोशनी सिवाकोटीले जानकारी दिइन् । त्यस्तै शुक्रराज योङहाङ, लक्ष्मीमाया इङम्बो र जनक भुजेलको घर डुबानमा परेको सिवाकोटीले बताइन् ।

त्यसैगरी मेची नदीमा आएको बाढीले कचनकवल गाउँपालिका ५ पाठामारी स्थित ११२ नम्बर नजिकै जमिन कटान भइरहेको सशस्त्र प्रहरी केचनाका इन्सपेक्टर भक्तवहादुर थापाले जानकारी दिए । नदीले जमिन कटान गर्दै सीमा पिलर छेउ आइपुगेको उनको भनाइ छ । त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ, भने स्थानीयलाई सतर्क बस्न आग्रह गरिएकोे उनले जानकारी दिए ।

त्यस्तै बिरीङ नदीमा आएको बाढीले कनकाई नगरपालिका ८ स्थित त्रिवेणी टोलमा कटान गरिरहेको छ । सो क्षेत्रमा रहेका ६ घर डुबानको जोखिम रहेको छ । नदीमा पानीको बहाव बढ्ने क्रममा रहेकोले उनीहरूलाई इलाका प्रहरी कार्यालय सुरुङाको टोली स्थानीय तहसँग समन्वय नगरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
त्यसैगरी बिरीङ नदीले बाह्दशी गाउँपालिका ७ स्थित तुलसीवारिमा जमिन कटान गरिरहेको उनले जनाए ।

त्यहाँ बसोबास गर्ने ६ घर परिवारलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनको भनाइ छ । जिल्लाको मेची, हडिया, निन्दा, बिरीङ, कनकाई, रतुवा, अदुवा लगायतको खोलामा पानीको बहाव बढिरहेकोले त्यस आसपास बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन प्रशासनले आग्रह गरिसकेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए । साथै मेची नदीमा आएको बाढीले भारतको जमिन कटान गर्दै अधिकांश एसएसबी बसेको पोस्टहरू समेत डुबानमा पारेको समाचार प्राप्त भएको छ ।