इनरुवा । श्रीमती जिस्क्याएको निहुँमा इनरुवामा एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन् ।

इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइरालालाई खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार खड्काले कोइराला माथि हतियार प्रहार गरेको अनुसन्धानको क्रममा खुलेको छ । खड्काले आजित भएर वृद्ध माथि खुकुरी प्रहार गरेको भनी प्रहरी समक्ष बयान समेत दिएको प्रहरीले जनाएको छ ।

घटना शनिबार साँझ भएको हो । सो दिन खड्काले घरबाट खुकुरी लिएर गई वृद्ध माथि अन्धाधुन्द प्रहार गरेका थिए । सो क्रममा वृद्धकी पत्नी भगवती कोइराला समेत घाइते भएकी छिन् ।

भगवती आफ्ना श्रीमानलाई जोगाउने क्रममा घाइते भएकी हुन् । दुवैको शरीरका विभिन्न अंगमा खुकुरीको चोट लागेको प्रहरीले जानकारी दिएको छ । हतियार प्रहार गर्ने खड्कालाई गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी कार्वाहीको प्रकृया अघि बढाएको जनाएको छ । वृद्धाको अवस्था सामान्य रहेपनि घाइते वृद्धको अवस्था भने गम्भिर रहेको प्रहरीको भनाई छ ।

कोइरालाले खड्काकी श्रीमतीलाई यसअघि समेत पटक पटक जिस्क्याउने गरेको भनी जानकारीमा आएको प्रहरीले जनाएको छ । सो विषयमा पहिला पनि पटक पटक भनाभन र विवाद भएकोमा पछिल्लो पटक समेत सोही प्रवृति दोहोरिए पछि खड्काले कोइराला माथि खुकुरी प्रहार गरेको प्रहरीको अनुमान छ ।