धनकुटा/ अविरल वर्षाको कारण धनकुटाका विभिन्न स्थानमा सडक, १ दर्जन भन्दा बढी घर, ९ वटा बिजुलीको पोल लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । साउन १२ गते रातिदेखिको अविरल वर्षाको कारण विभिन्न स्थानमा गम्भीर क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार श्रावण १३ गते परेको भारी वर्षाले कोशी राजमार्गको धनकुटा नगरपालिका–१० पात्ले, रुद्रबारी, गुठीटार, धनकुटाको फोक्ल्याण्ड टापु, जिरोपोइण्ट, धनकुटा नगरपालिका वडा नं. ३ भाषा स्कुलनजिक र वडा नं. ४ सल्लेरीमा सडक माथिबाट पहिरो र रुख झरेर बाटो अवरुद्ध भएको थियो ।

त्यसैगरी साउन १४ गते रुद्रबारीको जङ्गलमा ११ गोलाइमाथि पहिरो झरेको कारण सडक अवरुद्ध भएको थियो । एघार गोलाइको ७ नम्बर गोलाइमा करिब २ मिटर गहिरो र २० मिटर लम्बाइ क्षेत्र सडक भासिएको छ । अवरुद्ध सडक डिभिजन सडक कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटा, ट्राफिक प्रहरी कार्यालय धनकुटाको समन्वयमा पहिरो तथा रुख हटाई एकतर्फी रूपमा अहिले राजमार्ग सञ्चालनमा आएको छ ।

त्यस्तै धनकुटा नगरपालिका वडा नंं. ६ औद्योगिक ग्राम, धनकुटा बहुमुखी क्याम्पस गेट अगाडि, सरस्वती चोक र धनकुटा न.पा.७ स्थित घुमाउने चौतारीस्थित हाई–वे तथा भित्री सडकको साइडमा रहेका ९ वटा बिजुलीको पोलसमेत बाङ्गिएर तार भूईंमा झरेको जनाइएको छ । पोल ढलेको कारण विद्युत् अवरुद्ध भए पनि बिहीबारसम्ममा पुनःनिर्माण गरी विद्युत् सुचारु भएको प्राधिकरणको धनकुटा शाखाले जनाएको छ ।

त्यसैगरी वर्षाको कारण धनकुटा नगरपालिका वडा नं. ६ कचिडेका कैलाश रायको ढुङ्गा, माटोले बनेको टिनको छानो भएको घरमा माथिबाट पहिरो झरी घरको उत्तरपट्टिको पर्खाल चर्किएर हिलो र धमिलो पानी घर भित्र पसेको पाइएको छ ।

त्यसैगरी धनपा–६ फोक्ल्याण्ड टापुमा सन्तवीर लामाको भान्साघर, शौचालय र बाथरुम पहिरोले तान्दा ८ कोठे घरमा क्षति पुगेको छ । त्यहाँ ३ लाखभन्दा बढी क्षति भएको प्रहरीले बताएको छ । त्यस्तै पदम राईको घर पहिरोले पुरिएको अवस्थामा रहेको, विशाल राई, शेरबहादुर भण्डारीको घर पनि जोखिममा रहेको फोक्ल्याण्ड टापु टोलका अध्यक्ष शिव तिगेलाले बताए ।

त्यस्तै धनकुटा न.पा.४ देब्रेबासका रमेशचन्द्र अधिकारीको घरमाथिबाट पहिरो झरी टिनको छानो र टाटी बेरा भएको भान्सा घर भत्किएर १० हजार बराबरको क्षति भएको छ भने खानेपानी जम्मा गर्ने सिमेण्टको पक्की ट्याङ्कीसमेत पुरिएको छ । त्यस्तै धनकुटा–७ सिरवानीकी कमला राईको घरमाथिबाट पहिरो झरेर क्षति पुगेको छ । त्यस्तै धनपा–७ जिरोपोइण्टस्थित रमेश पौडेलको १८ कोठे पक्की घर भारी वर्षाको कारण पूर्णरूपमा भत्किएको छ ।

पहिरोले तानिएको कारण घरधनी र अन्य भाडावालालाई त्यहाँबाट हटाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनको १ करोडभन्दा बढी क्षति भएको जनाइएको छ । त्यस्तै स्वास्थ्य कार्यालयको क्वार्टर रहेको स्थानमा पहिरो जाँदा पशुपति ग्रील उद्योग रहेको घर जोखिममा परेको छ भने पहिरोको कारण जिरोपोइण्ट–बसपार्क आवत–जावतमा कठिनाइ भएको छ ।

उता धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ६ सिम्सुवामा को.१ ज १५४४ नं. को किराना सामान बोकेको बोलेरो गाडी सिम्सुवा खोला तर्ने क्रममा बाढी आई गाडी पल्टिएको जनाइएको छ । पल्टिएको गाडी इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले उठाई साइड लगाएको छ ।

धनकुटा न.पा.वडा नं.४ स्याउलेका ५२ वर्षीय देवेन्द्रप्रसाद तामाङको घरमाथिको कच्ची बाटो चिरा परी ढुङ्गा, माटोले बनेको टिनको छानो भएको दुई तले घर भासिएको छ । धनकुटा–५ तल्लो कोप्चेका श्रीकृष्ण प्रधानको ढुङ्गा, माटोले बनेको, टिनको छानो भएको, अढाई तल्ले घरको ३ वटा कोठा चर्किएको छ । पहिरोको जोखिममा परेका परिवारलाई आफन्त र सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

dkt dkt3 dkt1