संखुवाासभा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो संखुवासभा शाखामा चामल अभाव भएको छ । खाद्यान्न संकट समाधानका लागि स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखाको डिपोमा एक महिना अघि देखि चामल सकिएको हो ।
कोटा अनुसारको चामल आएपनि एक महिना अघि देखिनै चामल सकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी राम प्रवेश मण्डलले बताए । व्यापारीहरुले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य बस्तुमा मुल्य बढाएका छन् । लक डाउनको समयमा व्यापारीले एक बोरा चामलमा २ सय देखि ३ सय सम्म मूल्य बढाएको स्थानियहरुले गुनासो गरेको छ । अहिले चामल सहित अन्य खाद्य बस्तुहरुको मुल्य समेत बढाएकाले मारमा परेको खाँदबारी –९ का रमेश मगरले बताए । खाद्यले विक्रि गर्ने चामल व्यापारी सँग किन्दा किलोमा १० देखि १५ रुपयाँ सम्म महंगो परेको उनको भनाइ छ ।
लकडाउन र बर्खालागेको भन्दै व्यापारीले दैनिक उपभोग्य बस्तुको भाउ बढाए पनि अहिले सम्म सम्बन्धित निकायबाट बजार अनुगमन भएको छैन । लकडाउले दैनिक रोजगारी जान पनि समस्या भएको र पारिश्रमीक पनि समयमा नपाएको वेला अझ महंगो चामल किनेर खानु परेको जुनादेवी राईको गुनासो छ । लक डाउनको सयमा खाद्यले आपुर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा विपन्न परिवार महंगो मुल्यको चामल खान बाध्य छन् ।
विपद् र जिल्ला कारागारका लागि राखिएको २ सय क्वीन्टल चामल मात्र डिपोमा रहेको बताईएकोे छ । दैनिक ३ हजार ५ सय केजी चामल विक्रि गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अहिले डिपो बन्द गरेर बसेको छ । जिल्लामा सुपथ मुल्यमा चामल विक्री बितरण गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनको सयमा भने आफ्नो सेवा दिन सकेको छैन ।
विपन्न जनता र दैनिक ज्यालादारीमा काम गर्ने श्रमीकले सुपथ मुल्यमा किनेर उपभोग गदै आएको चामल अभाव भएपछि उनिहरु मर्कामा परेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोना मन्सुली प्रति केजी ३८ रुपैयाँ २५ पैसा र जापनीज प्रति केजी चामल ४३ रुपैयाँ २० पैसा दरले विक्रि गर्दै आएको थियो । तर चामल अभावकै कारण अहिले डिपो बन्द भएको छ । स्थानीयलाई सुपथ मुल्यमा चाम उपलब्ध गराउने डिपो बन्द भए पछि महगोे चामल किन्न बाद्य छन् ।