• सिंह चाम्लिङ राई

उदयपुर / लकडाउनको कारण उदयपुरको आँपटारमा उत्पादन भएको गोलभेडाले बजार नपाउँदा कृषकको बारीमै कुहिएको छ । रौतामाई गाउँपालिका–५ आँपटारमा स्थानीय किसानले लगाएको गोलभेडा लकडाउनले गर्दा विक्रि वितरण गर्न नपाउँदा बारीमै कुहिएको हो ।

जेठ लागेदेखि गोलभेडा पाक्न थालेको कृषकहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि देश लकडाउनमा गरेपछि बजारसम्म पु¥याउन नपाउँदा उत्पादन भएको गोलभेडा बारीमै कुहिएको कृषकहरुले बताएका छन् ।

गत वर्षहरुमा निकै राम्रो आम्दानी भएको गोलभेडा यस वर्ष कोरोना भाइरसको कारण कतिको बारीमै कुिहएको र कतिले गाई वस्तुलाई खोले पकाएर खुवाएको कृषक संगिता कार्कीले बताइन् । गैरसरकारी संघ सस्थाले गोलभेडा टनेला दिएपछि केहि वर्ष अगाडी देखि गोलभेडा उत्पादन गर्दै आएका करिब १० घर कृषकहरुको यस सिजनको गोलभेडा खेर गएको उनले बताइन् ।

यस सिजनको गोभेडाले बजार नपाएपनि पछिल्लो सिजनमा पाक्ने करिब १५ घर कृषकहरुले लगाएको गोलभेडाले पनि बजार नपाउँने हो कि भन्ने त्रास छाएको कार्कीले बताइन् । गत वर्षसम्म सल्ले, रौता, फोक्सिनटार, पोखरी, रसुवा लगायतका बजारहरुमा पु¥याएर बेच्ने गरेको उनले बताइन् ।

बारीमा उत्पादन भएको गोलभेडा खाएर र गाउँमा गोलभेडा नभएकोलाई बाँडेर नसकेपछि कसैले काटेर सुकुटी बनाएर सुकाएर पनि राखेको छ । अहिले पनि दैनिक प्रत्येक कृषकले करिब १५ केजी गोलभेडा उत्पादन गर्दै आएको कृषक दिपकुमारी मगरले बताइन् ।

गाउँमा दुई वटासम्म टनेला र खुल्ला बारीमासमेत गोलभेडा लगाएको कृषक हिमबहादुर कार्कीले बताए ।
गाईको गोबरमा उत्पादन भएको गोलभेडा लकडाउनले मानिस आवतजावत गर्न नपाएकाले गाउँको बजारहरुमा समेत विक्रि नभएको कृषक कार्कीले बताए ।