धरान / प्रदेश १ सरकारले आज प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरेहका छन् ।
लामो सयमदेखि चर्चामा रहेको तर बन्न नसकेको धरानको एयरर्पोट निमार्णका लागि आवश्यक पहल गर्न सरकारले नीति तथा कार्यक्रममा राखेको छ ।
पूर्वको पर्यटनलाई आवश्यक पूर्वाधार निर्माणका लागि धरानमा एयरर्पोट निर्माणका लागि आवश्यक पहल गर्ने प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

बृहत्त विराट क्षेत्रका लागि सम्भाव्यता अध्यन सुरु गर्ने

प्रदेश नं १ सरकारले बृहत्त विराट क्षेत्रका लागि सम्भाव्यता अध्ययन अगाडि बढाउने घोषणा गरेको छ । शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत गर्दै विराटनगर चक्रपथ योजनालाई अगाडि बढाउने पनि घोषणा गरेका हुन् ।

विपन्न समुदायका लागि जनता आवास कार्यक्रमलाई निरन्तरता दिने, इटहरीमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने , सुनसरीको कोशी गाउँपालिका र इलाममा रिफ्रेसमेन्ट सेन्टर निर्माणलाई निरन्तता दिने योजना पनि सरकारको छ ।

वीर शहिद नमूना बनाउने कार्यक्रमहरू स्थानीय पालिकाहरूमार्फत सञ्चालन गराउने भएको छ ।

प्रदेश नं १ मा ‘मेरो कृषि मेरो पौरख’ कार्यक्रम सञ्चालन गर्ने
प्रदेश नं १ सरकारले ‘मेरो कृषि मेरो पौरख’ नारासहितको कृषि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । प्रदेश सरकारले बेरोजगार युवाहरूलाई उत्पादनशील क्षेत्रसँग जोड्न निर्ब्याजी कृषि ऋण उत्पादन गराएर मेरो कृषि मेरो पौरख कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

सरकारले सहकारी संस्थाहरूलाई प्राथमिकतामा राखेर कृषि कार्यक्रम चलाउने र त्यसका लागि उत्पादन सहकारीमा जोड दिने योजना सरकारको छ । बजार क्षेत्रमा जग्गा उपलब्ध गराउने र स्थानीय तहमा सहकारी कृषि बजार सञ्चालन गर्ने नीति सरकारको छ ।

उदयपुरको श्रीलंका टापु र मोरङको रतुवामाईमा विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने, विराटनगरमा शीतभण्डार स्थापना गराउने, मध्यपहाडी क्षेत्रमा मकै उत्पादन बढाउने योजना सरकारको छ ।

रोगब्याधिले कृषिबाली नष्ट भए कृषकलाई अनुदान दिने, निजी क्षेत्रको सहकार्यमा प्रांगारिक मल कारखाना स्थापना गर्ने र १० प्रतिशत रसायनिक मलको प्रयोग घटाउने योजना प्रदेश १ सरकारको छ । प्रदेश नं १ सरकारले युवाहरूलाई आवश्यक कृषि सीप तालिम प्रदान गर्ने घोषणा गरेको छ ।