धनकुटा । धनकुटाबाट प्रतिनिधित्व गरेका संघीय सांसद् राजेन्द्रकुमार राईले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पत्रकारहरुलाई लक्षित गरेर नगद ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

सांसद् राईले कोभिड–१९ नियन्त्रणका लागि नेपाल सरकारले लगाएको लकडाउनको कारण संकटमा परेका धनकुटाका फ्रन्टलाइनका पत्रकारलाई राहत पु¥याउने उद्देश्यले नगद सहयोग गरेका हुन् । उनले पत्रकार महासंघको पत्रकार कल्याणकारी कोषमा आफूले सांसद् भएबापत पाउने एक महिनाको पारिश्रमिक सहयोग गरेको बताए ।

सांसद् राईले रकम महासंघ धनकुटा शाखा बरिष्ठ उपाध्यक्ष नगेन्द्रकुमार राईलाई प्रदान गरे । सांसद् राईले संघीय सासंद् भएदेखि हालसम्म भए गरेका योजनाहरूको प्रगति विवरण समेत प्रस्तुत गरे ।

जिल्ला अस्पताल धनकुटालाई ६ लाखभन्दा बढीको विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको पनि उनले बताए । कोशी पहाडको ४ जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटाको लागि कोरोना भाइरसबाट बच्न पीसीआर परीक्षण ल्याब धनकुटामा राख्न पहल गरेको जानकारी दिए । १४ लाखभन्दा बढीको ल्याब स्थापनाका लागि स्वास्थ्य सामाग्री आइसकेको बताए ।

महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले महासंघ शाखाको कल्याणकारी कोषमा रकम जम्मा गरेर सांसद् राईले धनकुटाका पत्रकारलाई संकटको बेला ठूलो राहत पुगेको बताए । उनले सांसद् राईलाई आगामी दिनमा पनि पत्रकारको हितमा निरन्तर सहयोग अपेक्षा राख्दै सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

महासंघ धनकुटा शाखाले १० वर्षअघि तत्कालीन अध्यक्ष मोहन बान्तावाको कार्याकालमा स्थापना गरेको पत्रकार कल्याण कोषबाट आपद्–विपद्मा परेका पत्रकारलाई सहयोग गर्दै आएको महासंघका सचिव विदुर खवासले जानकारी दिए । पत्रकार कल्याण कोष धनकुटाका अग्रज पत्रकारहरू सन्जय सन्तोषी राई, नगेन्द्र राई, विजय सन्तोषी राई, सन्तवीर लामा, खगेन्द्र घिमिरे, रमेशचन्द्र अधिकारी, स्मीता निरौला लगायतको अगुवाईमा देउसीभैलो खेलेर स्थापना गरिएको थियो ।

पत्रकार कल्याण कोषमा रकम बढाउनका लागि पछिल्लो कालमा थप पत्रकारहरू सक्रिय रहेको संस्थापक एवं धनकुटाका अग्रज पत्रकार संजयसन्तोषी राईले बताए । कार्यक्रममा प्रदेश सांसद् निरन राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान, धनकुटाका प्रमुख चिन्तन तामाङ, प्रजिअ केशवप्रसाद विमली, प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, स्वास्थ्य शाखाका प्रमुख तुलसीप्रसाद गुरागाईं, जिल्ला अस्पतालका प्रमुख पुजन विश्वकर्मा लगायतको उपस्थिति थियो ।