• मदनबाबु प्रसाई

उर्लाबारी / अढाई महिनादेखि लकडाउनले बेरोजगार बनेका मजदुर बर्गका लागि उर्लाबारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम वरदान सावित भएको छ ।

उर्लाबारी नगरपालिकामा चालु आर्थिक बर्षमा प्राप्त १४ लाख ९१ हजारको उक्त कार्यक्रमले लकडाउन कारण बेरोजगार बनिरहेको अवस्थामा वडा कार्यालयहरुले कार्यक्रम संचालन गरी रोजगार सृजना गरीदिदा ठुलो राहत भएको उर्लाबारीका विशाल दर्जीले बताए । उनले कार्यक्रमलाई केही महिना निरन्तरता दिन माग समेत गरेका छन ।

उक्त कार्यक्रमको सोमबार उर्लाबारी नगरपालिकाको वडा नं.–५ मा शुरुवात भएको छ । कार्यक्रमले वडामा २६ जना श्रमजिवी मजदुरबर्गलाई रोजगार दिएको वडाध्यक्ष तथा नगरपालिका प्रवक्ता भानु पराजुलीले बताए । वडाले मजदुरलाई ड्रेन तथा सडक मर्मतमा सदुपयोग गरी उक्त बजेट खर्च गरीने उनले जानकारी दिए ।

नगरपालिकाका रोजगार संयोजक ताराप्रसाद गुरागाईले चालु आर्थिक बर्षमा बिनियोजन भएको १४ लाख ९१ हजार रुपयाँ कार्यपालिकाको निर्णय भए अनुसार योजनामा परेका नगरका ६ वटा वडामा सडक, चिल्डे«न पार्क, शौचालय निर्माण, खेलमैदान घेरावारा, डे«न निर्माण आदी सार्वजिनक स्थल निर्माण कार्यमा खर्च गरीने बताएका छन ।