धरान । धरान–९ गौतम पथमा लकडाउनको अवधिमा सब्जी पसल खुल्ला गरेको पाइएपछि प्रहरीले बन्द गर्न खोज्दा प्रहरी र व्यवसायीबीच सामान्य विवाद भएको छ ।

तर, वडा प्रहरी कार्यालयले भने विवाद नभएको दाबी गरेको छ । खुल्ला गरेका कारण बन्द गर्नका लागि आह्वान गरिएकाे प्रहरीले जनाएकाे छ । यता व्यवसायीहरूले पसल खोलेपछि प्रहरीले आएर बन्द गर्न आह्वान गरेपछि आफूहरूले बन्द नगरेको बताएका छन् । त्यहाँका सब्जी पसलेहरूले ६८ दिनदेखिको लकडाउनका कारण आफूहरू समस्यामा परेपछि बाध्य भएर पसल खोलेको बताए । गौतम पथका सब्जी व्यवसायी रितेशकुमार जैसवालले अन्यतिर बन्द नगरे पनि सब्जी पसललाई मात्रै बन्द गर् भनेर भन्ने गरेको बताए ।

101525823_891785237957115_3423544742611255296_n

‘हाम्रोचाहिँ किन बन्द गर्नुपर्ने, अरूतिर खुल्लै हुन्छ, हाम्रोमा आएर बन्द गर् बन्द गर् भन्दै भन्छ’–उनले भने, ‘हामीचाहि के खाएर बस्नु, यत्रोदिन लकडाउन भइसक्यो ।’ प्रहरीले आएर बन्द गर भने पनि आफूहरूले बन्द नगरेको अर्का व्यवसायी सदानन्द साहले बताए । ‘किन खुल्ला गरिस् बन्द गर बन्द गर भन्यो’–उनले भने, ‘हाम्रो त अलिक भित्र हो । पुलिसले आएर सबै बन्द गर भन्यो ।’

यसबारे वडाध्यक्ष रत्न कट्वाललाई बुझ्दा सब्जी व्यापारीहरूले पसल खोलेका कारणले प्रहरीले बन्द गर्न आग्रह गरेको भन्ने बुझिन आएको बताए । उनले त्यसविषयमा प्रहरीसँग समन्वय गरेर के कसरी खोल्न सकिन्छ भन्ने विषयमा छलफल समेत गरिने बताए । व्यापारीहरूले भने अन्यत्र बन्द नगराए पनि सब्जी पसललाई मात्रै बन्द गर्नका लागि प्रहरीले दबाव दिने गरेको आरोप लगाउँछन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाका अनुसार प्रहरीले बन्द गर्नका लागि आह्वान गर्दा व्यापारीहरूले ‘हामीलाई खानाको समस्या भयो’ भन्दै बिहान खोल्न पाउने माग गरेका रहेछन् । ‘दालरोटीको समस्या भयो भनेर कुरा राखेछन्, भित्र भएका सामान पनि सबै कुहिसक्यो, बिहानबिहान खोल्न दिए हुन्थ्यो भन्ने उनीहरूको माग रहेछ’ अध्यक्ष सापकोटाले भने ।

उनले यस विषयमा धरान उपमहानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक उपप्रमुख मञ्जु भण्डारी सुवेदीसँग फोनबार्ता हुँदा उपमहानगरमा छलफल भइरहेकाले सकिएपछि कुरा गर्ने भन्ने भएको बताए ।