धरान । कोरोना भाइरसको संक्रमणसँगै हुन सक्ने जोखिम व्यवस्थापन गर्नका लागि प्रशिक्षित टोलीलाई तयारी अवस्थामा राख्न नेपाल तरुण दलले माग गरेको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईमार्फत् प्रदेश १ का मुख्यमन्त्रीलाई मंगलबार ज्ञापन पत्र बुझाउँदै भोलिका दिनमा हुनसक्ने सम्भावित खतरालाई टार्नका लागि प्रशिक्षित टोली तयारी अवस्थामा राख्न माग गरेको हो । तरुण दलका अध्यक्ष हिमाल श्रेष्ठले ज्ञापन पत्र बुझाउँदै धरान–१३ मा कोरोना संक्रमित देखिएपछिको अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनालाई नै लक्षित गर्दै टोली तयार गर्न माग गरेका हुन् । 

100776517_248100859731557_5922432568841469952_n

धरान १३ की ५१ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएपछि झण्डै २२ घण्टासम्म उनलाई बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा पु¥याउने गरी एम्बुलेन्सहरू तयार भएका थिएनन् । जसले गर्दा भोलिको अवस्थामा थप खतरा हुन सक्ने भएकाले पनि प्रशिक्षित टोली राखेमा भोलि आउन सक्ने समस्या तत्काल समाधान हुने उनले बताए । मुख्यमन्त्री शेरधन राईलाई भने इमेलमार्फत् ज्ञापन पत्र बुझाइएको उनले बताए । त्यस्तै भोलि (बुधबार) बीपी प्रतिष्ठानमा पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । 

प्रदेश १ ले भोलि हुन सक्ने सम्भावित अवस्थालाई मध्यनजर गरेर विपद् व्यवस्थापनको लागि टोली तयार गर्न माग गरिएको उनले बताए । ‘भोलि हुनसक्ने सम्भावित जोखिमलाई अहिलेबाटै तयारी थालौं भन्ने हाम्रो माग हो, संक्रमित हुँदा त यस्तो अवस्था छ, भोलि मृत्यु भएको अवस्थामा के होला, त्यसलाई विचार गरेर काम गरिनुपर्छ भन्ने तरुण दलको माग हो’–उनले भने । 

तरुण दलले स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकहरूलाई पनि प्रशिक्षित गराउनका लागि माग गर्दै सुरक्षाको आवश्यक सामग्री उपलब्ध गराउन पनि माग गरेको छ ।