सुनसरी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फ्रन्ट लाइनमा कार्यरत पत्रकारका लागि केपी ओली सरकारले सुरक्षा र स्वास्थ्य सामाग्री उपलब्ध गराउन नसकेको जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसरमा सुनसरी प्रेस युनियनले गरेको भर्चुअल छलफलको क्रममा ओली नेतृत्वको सरकारले पत्रकारहरूलाई स्वास्थ्य तथा सुरक्षा सामाग्री उपलब्ध गराउन नसकेको जिकिर गरेका हुन् । उनले पत्रकारका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

देउवाले प्रेस युनियन सुनसरीले निर्माण गरेको डिजिटल पात्रो ‘युनियन पात्रो’ को शुभारम्भ गरेका हुन् । उनले भने, ‘सुनसरीका साथीहरूलाई बधाई दिन चाहन्छु, अहिलेको प्रविधिको युगमा डिजिटल पात्रो निर्माण हुनु सह्रानीय छ ।’ 

कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू संकटमा परेको बताउँदै उनले भने, ‘मैले कोरोनाको महामारीको सुरुदेखि नै पत्रकारको हकमा बोल्दै आएको छु, मैले पत्रकारहरूका लागि सुरक्षा, स्वास्थ्य सामाग्री व्यवस्था होस् भनेर आवाज उठाउँदै आएको छु ।’ उनले सरकारले अहिले पत्रकारको हकहितका लागि काम गर्न नसकिरहेको दाबी गरे । 

कार्यक्रममा युनियनका केन्द्रीय सभापति बद्री सिग्देलले युनियनले प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आएको बताउँदै श्रमजीवी पत्रकारको हकहितमा काम गर्दै जाने बताए । कार्यक्रममा युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले लकडाउनको समयमा प्रेस युनियन जिल्ला कार्यसमितिले यहाँका क्रियाशील २२० पत्रकारहरूको कोरोना बिमा गरेको बताए । उनले निःशुल्क रूपमा स्वास्थ्य सामाग्री पनि वितरण गरेको बताए ।

उनले भने, ‘बिषम परिस्थितिमा मैले नेतृत्व सम्हाले पनि पत्रकारको हकहितका लागि काम गर्दै आएको छु, हामीले अहिले डिजिटल क्यालेण्डर पनि तयार गरेका छौँ ।’ उनका अनुसार युनियनको पात्रो प्ले स्टोरमा गएर सर्च गरेर डाउनलोड गर्न सकिने छ । पात्रोमा दैनिक राशीफल, न्यूज अपडेट गरिने र सबै जिल्लाका नेतृत्व तहमा बसेकाहरूको नामावली र नम्बर पनि उपलब्ध हुने उनले बताए ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेविसंघका सभापति राजीव ढुंगाना, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, प्रेस युनियका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु सिवाकोटी, पूर्व अध्यक्ष तथा पूर्व सूचना आयुक्त किरण पोखरेल, युनियन युरोप शाखाका अध्यक्ष विपिन निरौला लगायतले बोलेका थिए । उनीहरूले प्रेस युनियन सुनसरीले डिजिटल पात्रोको शुभारम्भ गरेर सह्रानीय कार्य गरेको बताएका थिए । कार्यक्रममा विभिन्न शाखाका २ सय ५० भन्दा बढी सक्रिय सञ्चारकर्मीहरू सहभागी रहेका थिए ।