संखुवासभा । देश भित्रको परदेशको रुपमा रहेको भोटखोला गाउँपालिका बासीले पर्खिरहेको राहत स्वरुप खाद्यन्न प्राप्त गरेका छन् । भोटखोला गाउँपालिकाको ४ र ५ नम्बर वडाका २ सय ४५ घरपरिवारले राहत पाएको हो ।

गत विहिबार हिमाली पहुँच केन्द्र काठमाण्डौले गाउँपालिकासंग समन्वय गरेर अतिविपन्न परिवारहरुलाई राहत वितरण गरेको हो । भोटखोला गाउँपालिका वडा नम्बर ४ स्थित गोला बजारबाट राहत वितरण गरिएको थियो । हिमाली पहुँच केन्द्रका कार्य वहाक अध्यक्ष लाक्पा छिरिङ भोटेले अति दुर्गम रहेको भोटखोला क्षेत्रका अति विपन्न परिवारलाई राहत उपलब्ध गराईएको बताए । कोभिड १९ का कारण लक डाउन भएसंगै भोटखोलाबासीमा खाद्यन्नको समस्या हुन थालेको अवस्थामा राहत वितरण गरिएको हो ।  

गाउँपालिकाको वडा नम्बर ४ मा १ सय २३ घर परिवार र ५ नं. वडामा १ सय २२ परिवारले राहत प्राप्त गरेको छ । हिमाली पहुँच केन्द्रले भोटखोला क्षेत्रमा विगतका समयदेखि नै विभिन्न कार्यमा सहयोग गर्दै आएको छ । गाउँपालिकाका वृद्धावृद्धाहरुलाई मासिक थप भत्ता समेत दिईरहेको केन्द्रले लक डाउनको समयमा महत्वपुर्ण सहयोग गरेको भन्दै वडाध्यक्ष कुन्साङ भोटेले धन्यवाद दिए।

उनले केन्द्रबाट अगाडीका दिनहरुमा पनि सहयोग प्राप्त गरेको र निरन्तर यस्तै सहयोग तथा सहकार्यको लागि अनुरोध गरे । त्यस्तै वडा नम्बर ५ का वडाध्यक्ष बाल कुमार राईले यो विषम परिस्थितीमा महत्वपुर्ण सहयोग पुगेको बताए । उनले घरमा चामल नै नभएको अवस्थामा यो सहयोगले सबैको घरमा चुलो बलेको बताए ।

घरमा खाद्यान्न नभएको र किनेर खाने अवस्था समेत नभएको समयमा धेरै राहत मिलेको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरे । स्थानीय ङ्याङ भोटेले कतैबाट आम्दानी गर्न नसकेको समयमा राहत पाएको भन्दै खुसी व्यक्त गरे । समस्या परेको बेला सहयोग गरेको भन्दै उनीहरुले धन्यावाद ज्ञापन गरेको छ । 

भाेटखोला गाउँपालिका संखुवासभाको विकट क्षेत्र हो । सडक सञ्जाल लगायतका आधारभुत विकासका पुर्वधारले समेत छुन नसकेको भोटखोलाबासीहरुको दैनिकी कष्टकर छ ।