धरान । धरान उपमहानगरको तरकारी व्यवस्थापन समितिले वडागत टोल विकास संस्था (टिएलओ) मार्फत् तरकारी बिक्री गर्न दिने निर्णयपछि धरान–९ का वडाध्यक्ष गम्भीर संकटमा परेका छन् ।

धरान ९ मा जम्मा ५ वटा टिएलओ रहेका छन् । तर, ९ नम्बर वडामा झण्डै ७० भन्दा बढी तरकारी व्यवसायीहरू बस्दै आएका छन् । धरान–९ गौतम पथमा तरकारी मण्डी रहेको छ । धरान उपमहानगरले वडाध्यक्षहरूलाई जानकारी नगराई निर्णय गरेका कारणले आफू गम्भीर संकटमा परेको वडाध्यक्ष रत्न कट्वालले जानकारी दिए । उनले भने, ‘‘मेरो वडामा जम्मा ५ वटा टिएलओ छ, ७० जनाभन्दा बढी त तरकारी व्यवसायी नै छन्, अब मैले कसलाई दिऊ, कसलाई नदिऊ ।’

उनका अनुसार आइतबार तरकारी व्यवसायीहरू आएर ‘मलाई देँ–मलाई देँ’ भन्दै लुछाचुडी गरिरहेका थिए । उपमहानगरको गलत निर्णयका कारण आफू गम्भीर समस्यामा परेको उनले गुनासो पोखे । ‘कम्तीमा यहाँको वस्तुस्थिति अध्ययन गरेर निर्णय गर्नुपर्छ ?’ उनले भने, ‘व्यवसायीलाई मलाई देँ भन्दै घेराउ नै गरेँ । अब मैले कसलाई दिऊ ।’

धरान उपमहानगरको तरकारी व्यवस्थापन समितिले शनिबार उक्त निर्णय गरेको थियो । पुराना पास प्राप्त व्यक्तिहरूको पास खारेज गर्दै टिएलओमार्फत् मात्रै सब्जी बिक्री गर्ने अधिकार दिने निर्णय गरेको थियो । धरान उपमहानगरकी उपप्रमुख तथा समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीले मंगलबारदेखि जारी हुने गरी नयाँ पास वितरण गर्न निर्देशन दिएकी थिइन् । धरान–९, धरान–३ र धरान–११, धरान–१ मा सब्जी व्यापार गर्नेहरूको बाहुल्यता रहेको छ ।

धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले कसरी बजारमा भीडभाड कम गर्न सकिन्छ भन्ने हिसाबले टिएलओलाई अधिकार दिइएको बताए । उनले अहिलेको परिस्थितिमा व्यापारीको मागलाई ठ्याक्कै सम्बोधन गर्ने अवस्था नरहेको बताए । ‘अहिलेको परिस्थिति हेरेर व्यापारीको ठ्याक्कै माग सम्बोधन गर्न सकिँदैन’ उनले भने, ‘व्यापारीले पनि त्यो कुराचाहिँ बुझ्नुपर्छ । वडाध्यक्षज्यूको कुरा पनि सही नै हो गलतचाहिँ होइन, व्यापारी बढी छन् । तर, त्यसको अधिकार टिएलओलाई दिएँ समस्या समाधान हुन्छ ।’