संखुवासभा/जिल्लाका विभिन्न ठाउँका खेतबारीमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप बढ्न थालेको छ । किराले खेतबारीभरि लहलह बढ्दै गरेको मकै बालीका सबै पात र गुभो खाएपछि कृषकहरु चिन्तित भएका छन् । गएको एक महिनादेखि फौजी किराको प्रकोप बढेको उनीहरूले बताएका छन् ।

खाँदबारी नगरपालिका–८, पाठक गाउँकी कृषक टीकामाया राईले बारीभरि लगाएको मकै किराले खान थालेपछि चिन्तित बनेको बताए । दैनिक एक हजार रुपैयाँको हलगोरुको खेतला किनेर बारीमा लगाएको मकै किराले खाएपछि खाँदबारी नगरपालिका–८, पाठक गाउँकी कृषक राई चिन्तित छिन् । ‘खेताला किनेर बारीमा लगाएको मकै एक्कासि मर्न थाल्यो’ उनी भन्छिन्, ‘मिहिनेत त खेर गयो हामीलाई कसले हेर्छ र ?’

उनी जस्तै सोही वडाका अर्का कृषक देवेन्द्र खत्रीले दुःखले गोडमेल गरेको मकैका बिरुवा टुप्पोदेखि मर्दै गएपछि मेहनत खेर जाने चिन्ताले सताएको बताए । अहिलेसम्म नदेखिएको नयाँ किराले मकैबारीमा सल्किएपछि स्थानीय कृषकहरू चिन्तित बनेको छ ।

मकै बारीमा फौजी किराले सखाप बनाउन थाले पछि कीटनाशक औषधि खोज्न तथा परामर्शको लागि किसानहरू कृषि ज्ञान केन्द्रहरू धाउन थालेका छन् । बजारका एग्रोभेटहरूमा विषादी पाउन छोडेको छ । कृषि ज्ञान केन्द्रले पनि औषधि नभएको जनाएको छ ।

संखुवासभामा १२ हजार ६३ हेक्टर क्षेत्रफलमा मकै खेती हुने र औसतमा वार्षिक १.२७ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसपालि संखुवासभाको ९ स्थानीयतहमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । खाँदबारी, चैनपुर, पाँचखपन, धर्मदेवी र मादी नगरपालिकामा देखिएको छ । त्यस्तै सभापोखरी, सिलिचोङ, चिचिला र मकालु गाउँपालिकामा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र खाँदबारीका प्रमुख गोविन्दप्रसाद आचार्यले बताए ।

कृषकहरूलाई भएको विषादी वितरण गर्दै आएको भए पनि पर्याप्त विषादी उपलब्ध गराउन नसकिएको जनाएको छ । स्थानीय बजारका एग्रोभेटहरूसँग पनि नभएकोले यस्तो समस्या आएको हो । तर स्थानीय तहलाई विषादीको व्यवस्थापन गर्न सुझाएको कृषि ज्ञान केन्द्रका प्रमुख आचार्यले बताए ।

फौजी किराले मुलुक भरि अहिलेसम्म ३ हजार हेक्टर मकैबाली सङ्क्रमित भइसकेको छ । ७ सय ५० हेक्टरमा लगाइएको मकै बालीनष्ट भएको छ । भने ६६ हेक्टर मकैबालीमा लागेको अमेरिकन फौजीकिरा नियन्त्रण भएको छ ।