धरान । धरानको कृषि उपज बजार स्थलले वडावडामा बिक्री गरिरहेका खुद्रा व्यापारीहरूलाई नयाँ पास दिने निर्णय गरेको छ ।

यसअघि वितरण गरेको पास सबै कृषि उपज बजारमा जिम्मा दिनका लागि वडाअध्यक्षहरूलाई सूचित गरिएको थियो । जसमध्ये अधिकांस वडाबाट वितरित पास फिर्ता आइसकेकाले नयाँ पासबाट मात्रै बिक्री वितरण गर्न पाउने भएको छ । मंगलबारबाट नयाँ पास लागू हुने व्यवस्था गरिएको कृषि उपज बजार स्थलले जनाएको छ । 

‘केही दिनका लागि समय दिएका छौं, पुरानो पास आएपछि त्यो पास रद्द भएर नयाँ पासलाई मात्रै मान्यता दिइने छ’–कृषि उपज बजार स्थलका अध्यक्ष तथा धरान उपमहानगरपालिका तरकारी व्यवस्थापन समितिका सदस्यसमेत रहेका पर्शुराम कट्वालले भने, ‘त्यसका लागि मंगलबारसम्मको समयावधि दिइएको छ ।’ नयाँ पास भने हरेक वडाका टोल विकास संस्था (टिएलओ) लाई क्षेत्राधिकार तोकिएको छ । उसैको अनुमतिमा टोलमा सब्जी बिक्रीवितरणका लागि पास पाउने छ । 

शनिबार धरान उपमहानगरपालिका तरकारी व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा धरान उपमहानगरकी उपप्रमुख तथा समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीले हरेक वडाको एउटा टिएलओलाई अधिकार प्रत्यायोजन गरेअनुरूप पुराना पास खारेज गरेर नयाँ पास दिनका लागि निर्देशन दिइन् । ‘पुराना पास सबै खारेज गर्नुस्, नयाँ पासबाट मात्रै बिक्री गर्ने व्यवस्था मिलाउनुस्’ उनले भनिन् । उनले यो बेलामा व्यापारीहरूलाई सेवाभावले काम गर्न पनि आग्रह गरिन् । 

लकडाउन सुरु भएलगत्तै धरानमा तरकारी व्यवस्थापनको लागि समिति बनेको थियो । उक्त समितिले थोक पसलबाट मात्रै बिक्री गर्ने व्यवस्था मिलाएको थियो । धरान–१३ मा एक ५१ वर्षीया महिलामा कोरोना संक्रमण देखिए पनि कृषि उपज बजार स्थल खुल्ला भइरहेका कारण शिखर युवा समाज र अमर सेवा समाजलगायत विभिन्न संस्थाले कृषि बजार केही दिन शिल गर्नका लागि आग्रह गरेको थियो । सोही आग्रह अनुरूप आज बैठक बसेको हो । 

समितिको बैठकले दुई वटा संस्थाबाट पनि प्रतिनिधित्व हुने गरी प्रस्ताव पेश गरेको छ । ती दुई संस्थालाई पत्राचार गरेर प्रतिनिधि माग्ने तयारी भएको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।