ताप्लेजुङ/ताप्लेजुङबाट पठाइएको १६ जनाको स्वाब परीक्षणको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । परीक्षणका लागि स्वास्थ्यकर्मी तथा अग्रभागमा खटिएका सुरक्षाकर्मीहरूसहितको स्वाब मंगलबार कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो ।

स्वाब पठाइएको १६ जनाकै रिर्पोट नेगेटिभ आएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । कोरोना भाइरस संक्रमणबिरुद्धको अभियानमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, संक्रमित जिल्ला झापाबाट आएका १ जना र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका १ गरी १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

ताप्लेजुङमा हालसम्म ३१ जनाको स्वाब परीक्षण गरिएको छ । ३१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । हालसम्म जिल्लामा ४ सय ५८ जनाको आरडिटी किटबाट परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको पोखरेलले बताए । अब तेस्रो चरणमा अग्रभागमा रहेर काम गर्ने हेल्थ डेक्समा कार्यरत स्वास्थ्य तथा सुरक्षाकर्मी र केही सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।