धरान । धरान–१३ कृषि उपज बजार स्थलमा सेनिटाइजर गर्न थालिएको छ ।

बजार क्षेत्रमा भीडभाड र आउजाउ भइरहने भएकाले धरान उपमहानगरपालिकाको हिजो बसेको बैठकले निर्णय गरेअनुसार नै आज बिहानबाट सेनिटाइजर थालिएको हो । धरानको कृषि उपज बजार स्थलसँगै धरान–१३ को अमरहाट क्षेत्रमा पनि सेनिटाइजर गरिने वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।

नगरले कृषि उपज बजार स्थललाई भने सधैभरि खुल्ला राख्ने निर्णय समेत गरेको छ । त्यसका लागि हरेक वडाको एउटा टोल विकास संस्थालाई सब्जी खरिदबिक्रीका लागि जिम्मेवारी दिने हिजो निर्णय गरेको थियो । बजार क्षेत्रमा अब दैनिक केही दिन सेनिटाइजर गरिने तयारी थालिएको वडाध्यक्ष काफ्लेले जानकारी दिए ।

धरान–१३ को शिवधारा क्षेत्रमा पहिलो पटक ५१ वर्षीया महिलालाई कोरोना संक्रमण भएको थियो । उनीसँग सम्पर्कमा आएका अन्यको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको थियो । तर, यो प्रविधिलाई विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको छैन ।