धरान / भक्तपुरका कोरोना संक्रमित देखिएकी महिला सुनसरीको रामधुनी–४ लालपुरमा आएर फुपूको घरमा बसेको खुले पछि उनका आफन्तहरुलाई परीक्षणका लागि जिल्ला अस्पताल  सुनसरी लगिएको छ ।

उनी लकडाउन अगाडि नै फुपूको घरमा आएर बसे पनि तीन दिनअघि मात्रै उनी भक्तपुर गएकी थिइन् । भक्तपुर अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत रहेकाले अस्पतालले बारम्बार आउनका लागि ताकेता गरेपछि उनी सरकारी पास लिएर मोटरसाइकलमार्फत् भक्तपुर पुगेकी थिइन् । अस्पतालमा डिउटी सुरु गर्नुपूर्व स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ देखिएको रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले जानकारी दिए ।

युवतीको घरमा रहेका ४ जना सदस्य उच्च जोखिममा राखिएको छ । झुम्का घरमा रहेका बुबा, आमा, हजुरआमा र भाईलाई स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल सुनसरी लगिएको छ । ती परिवारसँग नजिक रहेका छरछिमेक गरि १९ जनाको स्वाब परीक्षणका लागि इनरुवा पठाइएको मेयर चौधरीले जानकारी दिए ।