धनकुटा / धनकुटा नगरपालिका वडा नं.१ बरबोटेका वर्ष ४४ का पुष्पलाल तामाङ जन्मजात हिमोफिलियाले थलिएका छन् । औषधी खाएर जीवन बचाउदैंआएका उनले लकडाउनका कारण नियमित औषधी नपाए पछि उनको जीवन धरापमा परेको छ ।
अमेरिकाबाट आउने औाष्धी नआए पछि उनले स्वास्थ्यमन्त्रलिाई पत्र लेखेका छन् । तामाङले दुई पेज हस्तलिखित आफुले भोगेको पीडा स्वास्थ्य मन्त्रीलाई लेखेर पठाएका छन् ।
‘स्वास्थ्यमन्त्री ज्यु, तपाईं अहिले कोरोनाको महामारीमा लडिरहनु भएको छ । मलाई थाहा छ । तर म जस्ता हिमोफिलियाका बिरामीहरूको मृत्युवरण गरिरहेका छौं । अत्यावश्यक औषधि खरिद गर्दा हिमोफिलियाको औषधि पनि खरिद गरेर उपलब्ध गराएर न्याय गरिदिनु हुन फेरि पनि अनुरोध गर्छु ।’–उनले पत्रमा भनेका छन्–‘हेमोफिलिक फ्याक्टर नामक औषधि छिटोभन्दा छिटो उपलब्ध गराएर जीवन बचाइदिनुहोस ।’
उनले लेखेको पत्र
माननीय स्वास्थ्यमन्त्रीज्यू नमस्कार !
म पुष्पलाल तामाङ । म अहिले ४४ वर्षको भएँ । मेरो घर धनकुटा १ हिले बजार देखी करिब १ घण्टाको दूरीमा छ । हिँड्न सक्नेहरू त अलि छिटो नै पुग्छन । म जन्मजात हिमोफिलियाको बिरामी हुँ । हिमोफिलियाकै कारणले म अत्यन्त शारीरिक पीडा भोग्दै छटपटीमा बाँचिरहेको छु ।
म यहाँ हेमोफिलिया के हो भन्नेबारेमा उल्लेख गर्न लागेको पनि छैन । स्वास्थ्य मन्त्रालय हाँक्ने स्वास्थ्यमन्त्रीज्यूलाई हिमोफिलिया रोगबारे जानकारी नै होला । स्वास्थ्यमन्त्रीज्यू अहिले मेरो शारीरिक अवस्था र हाल मैले भोगिरहेको पीडा सुनाउँदै छु । कृपया अलिकति समय निकालेर सुनिदिनु होला है । म अहिले मेरै घर धनकुटामा १० दिनदेखि ओछ्यान परेको छु । न हिँड्न सक्छु न न हात खुट्टा नै चल्छ नै । दिसापिसाब ओछ्यानमै हुन्छ । पिसाबबाट रगत बग्ने समस्या बढ्दै गएको छ । यो रोगका कारण शरीरको आन्तरिक रक्तश्रावको पीडाले छट्पटाइरहेको छु । मेरा हात–खुट्टा चल्दैनन् । सुन्निएका छन । त्यसैले यो पत्रसमेत छिमेकी भाइलाई लेख्न लगाएको छु । यो लकडाउनमा मैले औषधि पाएको छैन ।
काठमाडौंमा रहेको हेमोफिलिया सोसाइटीमा बुझ्दा औषधि नभएको जानकारी पाएँ । अब त मलाई बाँच्ने आशा नै मरिसकेको छ । स्वास्थ्यमन्त्रीज्यू सकुन्जेल दुखाइ सहौंला र मरौंला । तर मजस्तै हेमोफिक थुप्रै साथी पनि औषधि नपाएर छट्पटाइरहेका छन । यस्तो अवस्थामा म मरे पनि अरू साथीहरू औषधि नपाएर नमरुन । म जस्ता अरू साथीहरू छटपटाउँदै मैलेजस्तै मृत्युलाई कुरेर बसिरहेका छन ।
स्वास्थ्यमन्त्रीज्यू, म हजुरलाई हृदयदेखि नै अनुरोध गर्छु ती साथीहरू बाँच्न चाहन्छन । तर बाँच्नका लागि एन्टी हेमोफिलिक फ्याक्टर नामक औषधि लगाउनुपर्ने हुन्छ । त्यो औषधि चाँडोभन्दा चाँडो उपलब्ध गराई जीवन बचाइदिनुहोस । मैले पनि बाँचेर म जस्ता साथीहरूका लागि केही गर्ने इच्छा थियो तर खै सक्छु जस्तो लाग्न छाडेको छ ।
अन्त्यममा, स्वास्थ्यमन्त्रीज्यू तपाईं अहिले कोरोनाको महामारीमा लडिरहनु भएको छ । मलाई थाहा छ । तर म जस्ता हिमोफिलियाका बिरामीहरूको मृत्युवरण गरिरहेका छौं । अत्यावश्यक औषधि खरिद गर्दा हिमोफिलियाको औषधि पनि खरिद गरेर उपलब्ध गराएर न्याय गरिदिनु हुन फेरि पनि अनुरोध गर्छु । हेमोफिलिक फ्याक्टर नामक औषधि छिटोभन्दा छिटो उपलब्ध गराएर जीवन बचाइदिनुहोस ।
उही
हेमोफिलिया बिरामी
पुष्पलाल तामाङ
धनकुटा