काठमाडौं । कोरोना संक्रमित एक युवती निको भएर घर फर्किएकी छन् । नेपालमा निको भएर घर फर्किनेको संख्या दुई पुगेको छ । ३० जना संक्रमित भएका छन् ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार डिस्चार्ज भएकी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जानकारी दिएको छ । उनले आफू पूर्ण निको भएर फर्किएको बताएकी छन् ।

उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आए पछि शनिवार डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।

काठमाडौं मै घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन । सँगै आएका भियतनामी एक साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल आफै पुगेकी थिइन् ।
उनले कोरोनालाई जित्न आत्मबल बढाएर घरमै बस्न सबैलाई आग्रह गरेकीछन् । आत्मविश्वासले आफुले कोरोनालाई जितेको प्रतिक्रिया दिएकी छन् । ‘घरैमै बसेर रोगसँग लड्न सक्ने क्षमता बढौं अनि कोरोनालाई जित्न सकिन्छ ।’– उनले भनिन ।