पाँचथर । देशमा लक डाउनको समय लम्बिएसंगै पाँचथरको कुम्मायक गाउँपालिकाले चैत्र ३० गतेदेखि राहत बितरणलाई निरन्तरता दिएकोे छ । गाउँपालिकाले सोमबार वडा नम्बर २ माङजाबुङ र वडा नम्बर ५ को स्याबरुम्बामा राहत बितरण गरेको हो ।
दुबै वडाका १ सय ७२ घरधुरीमा राहत बितरण गरेको छ । गाउँपालिकाको ट्याक्टर मार्फत राहत सामाग्री गाउँमै पुर्याएर राहत बितरण गरेको कुम्मायक ५ का वडा अध्यक्ष यामबहादुर बोहोराले बताए । वडामा रहेका विपन्न श्रमिक माझी, भुजेल लगायत अन्य ८९ घरधुरी छनोट गरी गाउँमै राहत बितरण गरेको उनको भनाइ छ । वडामा निर्माणधिन अवस्थाकै तमोर कोरिडोरमा अलपत्र अवस्थामा परेका मजदुरलाई पनि राहत उपलब्ध गराएको वडा कार्यालयको बताएको छ ।
त्यस्तै गाउँपालिकाको वडा नम्बर २ माङजाबुङका ८३ घरधुरीलाई पनि सोमबार नै राहत बितरण गरिएको वडा अध्यक्ष बालकृष्ण शेर्माले बताए । लक डाउनका कारण विपन्न समुदायका दैनिक ज्यालाद्धारीका नागरिक मारमा परेको भन्दै राहत बितरण गरिएको शेर्माको भनाइ छ । गाउँपालिकाले ५ वटै वडाका ४ सय ४८ घरधुरीलाई छनोट गरी राहत बितरण गर्दै आएको छ ।
चैत्र ३० गतेबाट राहत बितरण सुरु गरेको गाउँपालिकाले बैसाख २ गते ३ र ४ नम्बर वडा रानीगाउँमा बितरण गर्ने तयारी अघि बढाएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जनाए । कार्यालयको एकद्धार प्रणालीबाट २५ केजि चामल, १ केजि चिनी, १ लिटर खाने तेल, १ केजि नुन, २ केजि दाल र ४ वटा साबुन राहत स्वरुप बितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
































