काठमाडाैंं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले राससलाई जानकारी दिए  ।

 “अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।” उनले भने । टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।

निर्देशक डा राजभण्डारीले विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको छ । जनशक्ति तथा उपकरणको कमी छैन । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य सङ्ख्यामा बिरामी नआएकाे उनको भनाइ छ । “अस्पतालमा अहिले पहिलाभन्दा बिरामीको चाप कम छ । क्षयरोगलगायत अन्य सरुवा रोगका बिरामीलाई अन्यत्रै सिफारिस गरिएको हुनाले कोभिडको उपचारमा सहजता आएको छ”, निर्देशक डा. राभण्डारीले भनेे ।