विराटनगर /  प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस ( कोभिड १९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनँले आग्रह गरेका छन् ।
प्रदेश १ सरकारले निर्माण गरेको कोशी अस्पताल कोरोना उपचार केन्द्रको हिजो अनुगमन गर्दै प्रदेश प्रमुख अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले अहिलेसम्म गरेको कामको प्रशंसा गरे ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराएका थिए । मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष ध्यान दिएको बताए । उनले स्वास्थ्यकर्मीको प्रोत्साहनको काम प्रदेश सरकारले गरेको बताए ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि ७÷७ दिनको समूह बनाएर कार्य विभाजन गरिएको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराइन । उहिलेसम्मभएको क्रियाकलापबारे पनि मिश्रले प्रदेश प्रमुख र सामाजिक विकास मन्त्रीलाई जानकारी गराएकी थिइन ।
अनुगमनमा प्रदेश प्रमुख अधिकारीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास राज्य मन्त्री जयमाया गजमेरको समेत सहभागीता थियो । कोरोना अस्पताल ५० वेड क्षमताको रहेको छ ।