यासोक (पाँचथर)/बिश्वभर महामारीको रुपमा फैलिएको कोरना भाइरस कोभिड १९ संक्रमण रोक्न पाँचथरका स्थानीयतह सक्रिय भूमिकामा देखिएका छन् ।
संक्रमण फैलिएका देशबाट स्वदेश फर्किने नागरिकबाट स्थानीयतह उच्च जोखिममा छन् । शहर र बिदेशबाट गाउ फर्किने नागरिकको जिल्लाको कुम्मायक गाउँपालिकाले उच्च निगरानी बढाएको छ । कोरनाको संक्रमण बढ्न नदिनको लागि गाउँपालिकाले बिभिन्न देशबाट नेपाल फर्किएका युवाहरुको तथ्याङक संकलन गरी क्वारेन्टाइनमा राख्न थालेको छ । एक महिना अघिदेखि ६ वटा देशबाट २७ जना युवाहरु कुम्मायक गाउँपालिका फर्किएको तथ्याङक गाउँपालिकाले संकलन गरेको छ । उनिहरु कतार, मलेसिया, साउदी, कोरिया, दुबै र भारतबाट फर्किएका थिए । उनिहरु गाउँपालिकाको निगरानीमा छन् भने कोहीलाई क्वारेन्टाइनमा राखिएको छ
गाउँपालिकाले संचालनमा ल्याएको दश सैयाको क्वारेन्टाइनमा अहिलेसम्म ६ जना युवाहरुलाई राखिएको स्वास्थ्यकर्मी सेमिक लावतीले बताए । क्वारेन्टाइनमा राखिएका युवाहरुको नियमित चेकजाँच भईरहेको र खाने बस्ने व्यवस्था पनि मिलाइएको लावतीको भनाई छ । गाउँपालिकाले क्वारेन्टाइनको लागि स्थानीय अमृत आधारभूत विद्यालय र यासोक स्वास्थ्य चौकीको हललाई प्रयोगमा ल्याएको छ ।
सरकारले लक डाउन गरेको समयदेखि नै गाउँपालिकाको केन्द्र सुनसान छ । सोही समयदेखि नेपाल प्रहरी र जनप्रतिनिधिहरु बिदेशबाट फर्किएका नागरिकको पहिचान गर्नको लागि तल्लिन भएका थिए । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा २५ सदस्य कोरना रोक थाम समिति गठन गरिएको थियो । बैदेसिक रोजगारीबाट चैत्र १ गते गाउँपालिका फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने, र त्यो भन्दा पछाडी फर्किनेलाई होम क्वारेन्टाइनमा राख्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । आपत कालिन अवस्थामा गाउँपालिकाले ऐम्बुलेन्से सेवा पनि तयारी अवस्थामा राखेको छ । त्यस्तै बिदेशबाट फर्किएका युवाहरु गाउँमा भए तत्काल गाउँपालिकामा सम्पर्कमा आउन आग्रह गर्नुका साथै होम क्वारेन्टाइनमै रहन भनिएको चेम्जोङको भनाइ छ ।