पथरीशनिश्चरे / पथरीशनिश्चरे १० मा रहेका भूटानी शरणार्थीमा मास्कको अभाव देखिएको छ । त्यहाँ मास्क वितरणका लागि नगरपालिका कार्यालयले पहल गर्न आफुहरुले जानकारी गराइएको स्थानीय समाजसेवी प्रेम ढकालले वताए । त्यहाँ रहेका करीव १५ सय शरणार्थी रहेका छन् ।

सो कुरा जानकारी पाएर पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले व्यक्तिगत रुपमा १ सय थान मास्क शिविरमा पठाएका छन् । शरणार्थीहरुको राहत पनि कटौटी भएको र रोजगारीमा जान नपाउँदा खाद्यान्नको समस्या हुन थालेको छ ।

शरणार्थी सहित वडाहरुका ज्यालादारी गर्ने श्रमिकहरुको लगत संकलन गर्ने काम पनि केही वडाले अघि बढाएका छन् । राष्ट्यि युवा संघले ज्यालादारी गर्नेहरुका लागि खाद्यान्न संकलन कार्य अघि बढाएको केन्द्रीय सदस्य विजय डाँगीले जनाए । नेकपाको १० नम्वर वडा कमिटीले हालसम्म ३ हजार १ सय थान मास्क आफैं तयार गरी वडावासीमा वितरण गरेको छ ।

विहान र बेलुका अत्यावश्यक खाद्यान्न पसल खुल्ने

कोरोना भाइरसबाट वच्ने सचेतनाका साथ मोरङको पथरीशनिश्चरेमा अत्यावश्यक खाद्यान्न पसल विहान र बेलुका निश्चित समयका लागि खोल्न आव्हान गरिएको छ ।

संघीय सरकारको निर्णय अनुरुप पथरीशनिश्चरे नगरपालिकाको कार्यालय, पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय पथरीले पनि आइतबार संयुक्त सूचना जारी गर्दै विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न र सब्जी पसल खोल्ने समय निर्धारण गरेको छ । सोही अनुसार माइकिङ थालिएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले जनाए । आइतवार विहानको समयमा सूचना प्रवाह गर्न ढिलो भएकाले वेलुकादेखि पसल खुलाउने र वितरणको व्यवस्थापन गरिने उनले वताए ।

अत्यावश्यकीय सामान खरिद गर्दा कम्तिमा २ मिटरको दुरीमा रहेर घरको १ जनामात्र सहभागि हुनुपर्ने कुरा सूचनामा उल्लेख गरिएको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सवैले घरभित्र बसेर सहयोग पुर्याउन समेत अनुरोध गरिएको छ । ‘आफुपनि बाँचौं र अनुलाई पनि बचाऔं ’सूचनामा भनिएको छ ।

यसक्रममा, नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन् गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन, खाद्यान्नको सहज उपलब्धताको अनुगमन् गरिरहेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् ।

यसैबीच, अत्यावश्यक पर्ने बैंकिङ सेवा समेत सुरक्षित रुपमा २ घण्टा सञ्चालनको आवश्यकता महसुस गर्दै पथरीमा रहेको एनएमबी, कामना बैंक सहित आज २ घण्टा खुला गरिएको छ । नगरका खाद्यान्नका केही पसल र सब्जी पसलहरु सञ्चालनमा छन् ।