काठमाडौं  / कोरोना संक्रमण रोकथामका लागि गृह मन्त्रालयमा विपत् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले दक्षिण क्षेत्रको नाकामा कडाई गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विपत् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै मन्त्रालयका प्रतिनिधि सहभागी भए ।
संक्रमण फैलिन नदिन र फैलिएको अवस्थामा कसरी रोकथाम गर्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबारे भ्रम फैलाउनेलाई कारबाही गर्ने, रोकथामका लागि जनचेतना फैलाउनेलगायतका निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

बैठकमा एक महिनामा सयजनामा संक्रमण फैलिए के गर्ने र यो संख्या बढेर एक हजार पाँच सय पुग्यो भने कस्तो रणनीति अपनाउने तथा सात हजार संक्रमित भए रोकथामका लागि के गर्ने भन्नेबारे योजना पेस भएको थियो ।

प्रहरीले संक्रमण देखिएको अवस्थामा रोकथामका लागि १२ हजार पाँच सय प्रहरीलाई प्रशिक्षण दिइ तयार गरिएको बैठकमा जानकारी गरायो ।