भण्टाबारी/ कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदल यात्रीले कष्ट भोग्दै आएका छन् ।

भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका छन् । तर, प्रदेश १ र २ लाई जोड्ने तथा हजारौंको सङ्ख्यामा गाडी गुड्ने पुल भए पनि बाटो निर्माणमा कसैको ध्यान गएको पाइँदैन । जसले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ भने पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकसमेत सास्ती खेप्न बाध्य छन् । वर्षामा सडक हिलाम्मे हुन्छ भने अरू समयमा सडक धुलाम्मे हुन्छ ।

वर्षौंदेखि मर्मत नहुँदा पूर्व–पश्चिम राजमार्गमा पर्ने कोशी ब्यारेज–भण्टाबारी सडक–खण्ड जीर्ण बन्दै गएको स्थानीय बताउँछन् । कालोपत्रे भत्किएर बनेको खाल्डाखुल्डी नपुरिँदा र स्तरोन्नति नहुँदा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सुनसरी र सप्तरी जिल्ला जोड्ने कोशी ब्यारेज क्षेत्रको बाटो मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको कोशी ब्यारेजका स्थानीय सन्तोष थापाले बताए । दिनहुँ हजारौं सवारीसाधन गुड्ने बाटो कोशी प्रोजेक्टले मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको हो । वर्षाको समयमा कोशी ब्यारेजमा पानीको बहाव बढ्दा बाटो थप जोखिमपूर्ण हुने गरेको उनको भनाइ छ ।

वर्षापछि जमेको पानीले गर्दा बाटो हिलाम्मे हुने गरेको छ । वर्षौंदेखि यस्तो समस्या रहे पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय बताउँछन् । बाटोको अवस्था दयनीय बन्दै जाँदासमेत भारतीय पक्षले कहिलेकाहीँ खाल्डाखुल्डी भर्ने काम मात्र गरेको तर दीर्घकालीन समस्याको समाधानतर्फ चासो नदिएको अर्का स्थानीय सुनिता मण्डलले बताइन् । दैनिक सयौंको सङ्ख्यामा आन्तरिक तथा वाह्य पर्यटक कोशी ब्यारेज घुम्न आउने गरेका छन् । बाटो मर्मत–सम्भार नहुँदा पर्यटकहरू वर्षायाममा हिलो र सुख्खा मौसममा धुलोले पीडित बन्ने गरेको सुनिता बताउँछिन् । उनले भनिन्, ‘भारतीय पक्षले कहिलेकाहीँ सडकको खाल्डाखुल्डी टालेर जनताको आँखामा छारो हाल्दै आएको छ । तर, बाटो पिच गरेको छैन, जसले गर्दा केही समयपछि समस्या ज्युँका त्युँ हुन्छ’ सुनिताले थपिन्, ‘दीर्घकालीन समाधान गर्न नेपालले पहल गर्नुपर्छ ।’

कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुवाहक गाडीदेखि मालवाहक गाडी बिग्रने गरेका छन् । यता कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोशी ब्यारेज कोशी प्रोजेक्ट अन्तर्गत रहेको बताउँदै दिन प्रतिदिन बाटोको अवस्था दयनीय बन्दै जाँदा दुर्घटनाको जोखिम बढेको बताए ।

अन्सारीले कोशी ब्यारेजको बाटो कोशी प्रोजेक्टको कार्यक्षेत्रभित्र पर्ने भएकोले गाउँपालिकाले सूचना प्रकाशित गर्नुबाहेकको विकल्प नरहेको बताए । दैनिक हजारौंको सङ्ख्यामा सवारीसाधन गुड्ने उक्त सडक–खण्डको बाटो स्तरोन्नति गर्न गाउँपालिकाको पहलले नपुग्ने भएकोले प्रदेश सरकारले समेत आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए । कोशी ब्यारेजको बाटोमा भएको खाल्डाखुल्डी पुर्न गाउँपालिकाको कार्यालय आवश्यक सहकार्य गर्न तयार रहेकोे अन्सारीको भनाइ छ ।