विराटनगर । राष्ट्रिय जनगणना सकिएको ६ महिना पछि सातौं राष्ट्रिय कृषिगणना पनि हुने भएको छ । तीन तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले कृषि गणना हुने भएको हो ।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने मुख्य नाराका साथ तथ्यांङ कार्यालयले आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना गर्ने भएको छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि कृषि गणना सुरु हुने केन्द्रीय तथ्यांक विभागका निर्देशक बद्री कुमार कार्कीले जानकारी दिए । तथ्यांङ विभागले विराटनगरमा मंगलबार आगमी राष्ट्रिय कृषिगणना २०७८ मा समेटिने विषयबस्तु सम्बन्धमा सरोकारवालाहरूसँग आयोजना गरिएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएको हो ।

विभागका निर्देशक कार्कीका अनुसार नयाँ संघिय संरचना अनुसार आवश्यक पर्ने कृषि तथ्याङ्कको प्रभाव गर्ने समयानुकुल विषयवस्तु समेटने जानकारी दिए । ‘विगतको कृषिगणनामा जिल्ला स्तरसम्मको मात्र कृषि तथ्याङ्क उपलब्ध हुँदै आएको थियो,’ उनले भने, ‘सातौं राष्ट्रिय कृषिगणनामा गाउँदेखि नगरपालिकासम्मको कृषि तथ्याङ्क उपलब्ध गराउने लक्ष्य राखिएको छ ।’

यस पटकको कृषिगणनामा महिलाको नाामा रहेको जग्गा, कृषि वीमा तथा अनुदान, कृषिमा जलबायु परिवर्तनले पु¥याउने असर, बाली अवशेष तथा कृषि कार्यालयबाट सृजित फोहरको व्यवस्थापन, कृषि बनको अभ्यास, हरितगृह कृषि खेती प्रणालीको अभ्यास, सरकारी सेवा सुविधामा कृषकको पहुँचलगायतको विषयहरू पनि समेटने भएको छ । अन्तरक्रियाबाट सरोकारवालाहरुबाट आएको सुझावलाई मनन गर्दै कृषिगणनामा प्रश्नवाली पनि संशोधन गरिने विभागका निर्देशक कार्कीले बताए ।

‘आगमी कृषि गणनाले प्रदेश र स्थानिय सरकारलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउनेछ,’ उनले भने, ‘कृषिगणनाले आवधिक योजना बनाउन भूमिका खेल्ने भएकोले गणनामा सबैको साथ सहयोगको खाँचो रहेको छ ।’

कार्यक्रममा बोल्दै प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार बनाउन कृषिगणनाले ठूलो भुमिका खेल्ने बताए । आवधिक योजना बनाउन तथ्याङ्क संकलनले ठूलोे भुमिका खेल्ने भएकोले गणकले सैधान्तिक कुराहरुमा बढी ध्यान दिनुपर्ने उनले सुझाब दिए । कार्यक्रममा १ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयका सचिब सन्जिवकुमार राई, पशुपंछी तथा मत्स्य विकास निर्देशनलाय विराटनगरका निर्देशक डा. लेखराज दाहाललागयले सबैको साथ सहयोग र सहकार्यले कृषिगणना प्रभावकारी हुने बताए ।