भद्रपुर / झापा दमक नगरपालिका–८ बालुवाटार स्थित करोडौँ मूल्यको सरकारी जमिन ब्यक्तिको नाममा पार्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका तीनजना कर्मचारीसहित पाँचजना आरोपित धरौटीमा छुटेका छन् । झापा जिल्ला अदालतले दिएको जानकारी अनुसार नापी अधिकृत स्टालिन भण्डारी, सर्भेक्षक विनोदकुमार मण्डल,मालपोत कार्यालयका सुब्बा कृष्णप्रसाद भट्टराइ,जग्गा धनी मोरङ पथरीका ओमप्रकाश पौडेल र सर्जिमन मुचुल्कामा सही गर्ने दमक ८ का बेदबहादुर पौडेल रहेका छन् ।
झापा जिल्ला अदालका न्यायाधिस सन्तोष प्रसाद पराजुलीको इजालासले वुधबार धरौटी छुटाएको हो । अदालतले कर्मचारीलाई जनही ३ लाख ९० हजार , जग्गा धनी पौडेललाइ १ लाख ७५ हजार र सर्जिमनमा सही गर्ने पौडेललाइ ७५ हजार रुपैयाँ धरौटीमा आदालतको आदेशमा छुटेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले जनाए । आउँदो माघ २१ गते तारिख दिएर उनीहरुलाई वुधबार छाडिएको श्रेस्तेदार खनालले जानकारी दिए । पुरानो मुलुकी ऐन अनुसार सरकारी किर्ते कागज तथा छापमा मुद्दा दर्ता गरिएको अदालतले जनाएको छ । उनीहरुलाई प्रहरीले विभिन्न क्षेत्रबाट मङ्सिर महिनामा पक्राउ गरेको थियो ।
नेकपाका नेता गगन पुरी र केही कर्मचारीको मिलेमतोमा केही व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । नेकपा नेता पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका ओमप्रकाश पौडेलको नाममा पास गराएर हत्याउन खोजेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
साविकको कित्ता नम्बर ३० को जग्गा ३ कित्तामा छुट्याइएको छ । अहिलेको कित्ता नम्बर ७४ को जग्गा पौडेलको नाममा देखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२ कठ्ठा जग्गा दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त जग्गा साविक दमक–१३ हालको बालुवाटार ८ मा छ । जग्गामा बस्दै आएका सुकुम्बासी ४० सालमा आएको बाढीका कारण अन्यत्र सरेका थिए । सो क्षेत्रको जग्गाको मूल्य हाल धुरको ३ देखि ४ लाख रुपैँयामा बेचबिखन हुँदै आएको स्थानीय बताउँछन् ।
सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको आरोपमा पुरीलाई जिल्ला अदालत झापाले पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई पक्राउ पुर्जी पठाइसकेको छ । उक्त जमिन महेन्द्र राजमार्गदेखि करिब १ किलो मिटर दक्षिणमा पर्छ ।
यता जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि हालसम्म पुरी पक्राउ परेका छैनन् । झापा प्रहरी भने पुरीको खोजी तीव्र पारेको बताएको छ । अदालतले म्याद र वारेन्ट केही दिन भित्रमा जारी गर्ने प्रहरीले जनाएको छ ।