धरान । आठौं भेडेटार फुड फेस्टिवल शुरु भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फेस्टिवलको उद्घाटन गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै हरेक वर्ष झैं यसवर्ष पनि फुड फेस्टिवल लगाइएको आयोजक होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ ।
फेस्टिवलमा २५ वटा स्टलहरू रहेका छन् । जसमा जातीय परिकारलगायत हस्तकला, अल्लोलगायतका सामग्री बिक्रीका लागि राखिएका छन् । त्यसक्रममा राई, मगरको जातीय झाँकी नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका कविराज घिमिरेलाई नगद ५ हजार रुपैयाँसहितले सम्मानित गरिएको थियो । कार्यक्रममा अध्यक्ष जितेन्द्र रुम्दाली राईलगायतले उनलाई सम्मान पत्र प्रदान गरेका थिए । सोही क्रममा भेडेटारको सद्भावना दूतसमेत बनेकी मिस पूर्वाञ्चलकी विजेता रिजु भट्टराईसमेतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
फेस्टिवलमा करिब १ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ भने ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने लक्ष्य राखेको अध्यक्ष राईले जानकारी दिए । त्यसक्रममा नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीले प्रदेश १ का विभिन्न गन्तब्यहरूलाई समेटेर फोटो प्रदर्शनीसमेत गरेको छ । फेस्टिवल पुस १७ गतेसम्म आयोजना हुँदै छ ।