झापा । झापा बिर्तामोड–४ को कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारणसभाले पुनः अध्यक्षमा टसबहादुर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
संस्थाको मंसिर ८ गते भएको निर्वाचनले अध्यक्ष श्रेष्ठसहित ९ जनाको कार्य समिति सर्वसम्मत चयन भएको आइतवार बिर्तामोडमा भएको साधारणसभामा जानकारी दिइएको हो ।

समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमश ईश्वरीप्रसाद खरेल, भूपाल बस्नेत र एकराज विष्टलाई चयन गरेको छ । त्यस्तै सदस्यमा गणेशप्रसाद पराजुली, जानुकादेवी ओली, कुमारीदेवी खड्का, गुञ्जन थापा र निर्मला पाठक लुइटेललाई चयन गरेको सचिव भूपाल बस्नेतले जानकारी दिए ।

त्यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा पुनःरामकुमार गौतम, सदस्यमा मनकुमार बेधा र निलम प्रधानलाई चयन गरेको छ । निर्वाचित सञ्चालक समिति तथा लेखा समितिलाई संस्थाको बार्षिक साधारणसभामा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएकोे थियो ।

आर्थिक बर्ष २०७५/७६ असार मसान्तसम्ममा संस्थामा २९ हजार एकसय ९३ जना शेयर सदस्य रहेको अध्यक्ष श्रेष्ठद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थामा चुक्ता शेयरपुँजी २२ करोड ३६ लाख ८८ हजार ४ सय रुपैयाँ रहेको । संस्थाले आव २०७५/७६ सम्ममा २६ करोड ६८ लाख ३२ हजार २४ रुपैयाँ ८७ पैसा आम्दानी गरेको छ ।

त्यस्तै खर्च २१ करोड ६३ लाख ११ हजार ५ सय ६५ रुपैयाँ ३० पैसा गरी खुद नाफा ५ करोड ५ लाख २० हजार ४ सय ५९ रुपैयाँ ५७ पैसा गरेको प्रतिवेदनमा छ । संस्थाले शेयर सदस्यलाई ध्यानमा राखेर उपचारकोष खडा गरेको छ भने अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।