धरान/तीस लाख रुपैयाँ बराबर कारोबार गर्दै आठौं यःमरी सांस्कृतिक तथा पर्यटन उत्सव शनिबार समापन भएको छ ।
मङ्सिर ९ गतेदेखि शुरु भएको उत्सवमा २५ वटा स्टल रहेका थिए । जसमध्ये १२ वटा स्टल यःमरीसँग सम्बन्धित रहेका थिए । एक दिनमा ३ हजार यःमरी बिक्री भएको उत्सव मूल आयोजक कमिटीकी संयोजक शिला बज्राचार्यले जानकारी दिइन् । कार्यक्रमको समापन धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले गरेका थिए । समापन कार्यक्रमपश्चात् सांस्कृतिक कार्यक्रम भएको थियो । उत्सवमा नेवारी खाजा सेट, अण्डाबारा, यःमरी, लामरी, खुवामरीलगायतका परिकार रहेका थिए भने अन्य जातीय परिकारहरू पनि राखिएका थिए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार र ब्याण्डहरूले प्रस्तुति दिएका थिए । कार्यक्रमको तेस्रो दिन गायक सपन श्रेष्ठले मनोरञ्जन दिलाएका थिए । उत्सवमा करिब ३० हजारको हाराहारीमा आन्तरिक पर्यटकहरूको उपस्थिति रहेको थियो । नेवाः देय दवूः नगर समितिको आयोजनामा भएको कार्यक्रममा विराटनगर, उदयपुर, इटहरीलगायतका स्थानबाट आन्तरिक पर्यटकहरू यःमरी उत्सवमा आइपुगेको अध्यक्ष मनोहर शाक्यले जानकारी दिए ।