धरान/ स्थानीय तहले कर तथा राजश्व वृद्धि गरेपछि व्यापक जनगुनासो बढेको सन्दर्भमा धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले त्यसलाई घटाउने प्रयास भइरहेको बताएका छन् ।

आफूलाई मतदान गरेर जिताउने मतदातालाई धन्यवाद तथा आभार व्यक्त गर्न हाल पनि बिहान र बेलुका घरदैलोमा व्यस्त भएका बेला दिउँसो नगरपालिकामा भेटिएका मेयर राईले कर तथा राजश्व घटाउने बारे अध्ययन भइरहेको बताए ।

उनले ब्लाष्टलाई भने, ‘धरान उपमहानगरपालिकाले यसअघि वृद्धि गरेको समग्र राजश्वका प्रणाली तथा करको दररेट र दायराको पुनरावलोकनका लागि कर विज्ञ समावेश गरी एउटा समिति नै गठन गर्ने तयारीमा जुटेका छौं ।’ सोही अनुसार सरोकारवालाहरूसँग छलफल गरेर कुन कुनमा के कति कसरी कर तथा राजश्व र दस्तुर घटाएर नगरबासीलाई राहत दिन सकिन्छ । अध्ययन र प्रक्रियामा जाँदैछौं ।’

भर्खरै सम्पन्न धरानको उपनिर्वाचनमा राई र उनको पार्टी नेपाली काङ्ग्रेसले कर वृद्धिको विषयलाई प्रमुख एजेण्डा नै बनाएको थियो । उनले आफूले धरानको मेयर पद जितेमा पहिलो प्राथमिकतामा कर घटाउने एजेण्डा राख्ने बताएका थिए । उनले आफ्नो प्राथमिकतामा राखेअनुसार नै पदभार ग्रहण गरेको पहिलो दिन नै आर्थिक वर्ष ०७६/७७ को वित्तीय क्षेत्रको बजेटमा आउने गरी कर तथा राजश्व शुल्क पुनरावलोकन गर्न विशेषज्ञ सम्मिलित कार्यदल गठन गर्न निर्णयार्थ प्रस्ताव राखिसकेको पनि बताए । मेयर तिलक राईको उक्त प्रस्ताव अब बस्ने नगरसभामा लगिनेछ ।

धरान उपमहानगरपालिकाले गतवर्षको तुलनामा चालू आर्थिक वर्षमा १० देखि १५ प्रतिशत सम्पत्तिकर वृद्धि गरेको छ । व्यावसाय करमा गतवर्ष नै दर्ता गरेका फर्म वा कम्पनीलाई यथावत् कायम गरिएको छ भने नयाँ व्यवसायीलाई करमा १० प्रतिशत थप गरिएको छ । आर्थिक वर्ष ०७५/७६ अगाडिका व्यवसाय करको तुलनामा १५ प्रतिशत वृद्धि गरेको राजश्व महाशाखाले जनाएको छ ।

तर पूर्वका अन्य स्थानीय तहहरू नगरपालिका, उपमहानगरपालिका र महानरपालिकाले निर्धारण गरेको कर तथा राजश्व दररेटको तुलना गर्दा धरानले लागू गरेको कर राजश्व निकै कम दररेट भएको पाइएको छ । करवृद्धिकै कारण नेकपाले धरानमा चुनाव हारेको निष्कर्ष निकाल्दै पार्टीले पनि तत्काल करको दररेट घटाउन सुझाव दिइसकेकाले कर तथा राजश्वको दररेट घटाउन उपमहानगरपालिकालाई सहज भने भएको छ ।