धरान / जिल्लाका स्थानीय तह मध्ये धरान र इटहरी उपमहानगरपालिका र देवानगञ्ज गाउँपालिका बेरुजु शुन्य स्थानीय तहमा दरिएका छन् ।
धरान उपमहानगर र इटहरीमा भ्रष्टचारको आरोप लागि रहेको बेला कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलब्ध गराएको आर्थिक वर्ष २०७६/७६ को आलेप प्रतिवेदनअनुसार बेरुजु नभएको स्थानीय तहको रुपमा सार्वजनिक गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख कोष नियन्त्रण बज्रमोहन कोइरालाले सुनसरीका स्थानीय तहमध्ये दुई उपमहानगर र एक गाउँपालिकामा बेरुजु नदेखिएको बताए ।
भएका स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यसपछि कोशी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । बेरुजु देखिएकाहरुमा प्रक्रिया नपुगी भुक्तानी दिएर असुल गर्नु पर्ने, दिनुपर्ने भन्दा बढी भुक्तानी दिएको जसमा कागजात नमिलेको समेतका कारोवार र कुनै काम गर्न तोकिएको म्याद सकिएपनि काम सम्पन्न नगरेर असुल गर्नु पर्ने रकमहरुलाई बेरुजुमा देखाईएको कोइरालाले जानकारी दिए ।
स्थानीय तहको तहगत बेरुजु विवरण अनुसार सबैभन्दा बढी बेरुजु देखिएको इनरुवा नगरपालिकामा खरिद प्रक्रिया पुरा नभई भुक्तानी दिएर असुल उपर गर्नु पर्ने अथवा प्रक्रिया नपु¥याई भुक्तानी दिएको रकम १९ लाख ७४ हजार ७९० रुपैया रहेको छ ।
धरान र इटहरी नेकपाले नेतृत्व गरेको स्थानीय तह हुन । नेपाली कांग्रेसको नेतृत्व रहेको स्थानीय तहमा बढि बेरुजु पाइएको छ ।
जिल्लामा रहेको १२ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकामा गरी आर्थिक वर्ष २०७५/७६मा झण्डै साढे पाँच करोड रुपैया बेरुजु देखिएको छ ।